खेलाडी अनुशासनमा रहनुपर्ने भन्दै ओलीले दिए पृथ्वी, सूर्य र ब्रह्माण्डको उदाहरण

हिमाल प्रेस १६ असार २०८३ १५:३९ | Tuesday, June 30, 2026
8
SHARES
खेलाडी अनुशासनमा रहनुपर्ने भन्दै ओलीले दिए पृथ्वी, सूर्य र ब्रह्माण्डको उदाहरण

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलकुदमा अनुशासन अपरिहार्य रहेको बताएका छन्। नेपाल खेलकुद विकास महासंघको राष्ट्रिय भेलालाई मंगलबार सम्बोधन गर्दै उनले खेलाडीले अनुशासनलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए।

खेलाडीको अनुशासनबारे बोल्दै उनले प्रकृतिको उदाहरण प्रस्तुत गरे। ‘खेलाडीहरू अनुशासित हुन्छन्। बिनाअनुशासन खेल हुनै सक्दैन। अनुशासनको पालना नभए खेल खत्तम भइहाल्छ, बिग्रिहाल्छ,’ उनले भने, ‘यसै त यो प्रकृति नै अनुशासनमय छ,धर्ती,गृहहरू अनुशासन छन्। सूर्य आफैँ अनुशासित छ। सिंगै ब्रमाण्ड अनुशासितछ।’

पृथ्वीको उदाहरण दिँदै उनले थप भने,‘पृथ्वी अनुशासित छ। भरे बेलुका कतिबेला घाम अस्ताउनुपर्छ थाहा छ। कति कक्षमा, कति अक्षमा घुम्नुपर्छ उसले जानेको छ।’

ओलीले शारीरिक अवस्था र उमेरअनुसार खेलकुदमा सहभागी हुनु मानव जीवनका लागि महत्त्वपूर्ण रहेको पनि बताए। यसै क्रममा उनले नेपाली खेलाडीको शारीरिक विकासमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै सरकारले खेल क्षेत्रलाई पर्याप्त प्राथमिकता नदिएको टिप्पणी गरे।

‘खेल विकासका लागि सिंगै नेपालीको हाइट बढाउनुपर्ने छ। खेलाडी खान नपाएर कमजोर हुने स्थिति हुनुहुँदैन। यतापट्टि सरकारले ध्यान दिनुपर्ने हो,’ उनले भने,‘यहाँ त सरकार हस्तक्षेप गरेर एन्फालाई अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध गर्नेतिर लागेको छ। यसलाई टुप्पोमा परिवर्तन खोजेर हुँदैन। जरैदेखि हुनुपर्छ।’

उनले एन्फालाई प्रतिबन्धबाट मुक्त गराएर नेपाली खेलाडीको प्रतिभा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्नतर्फ ध्यान दिन नेपाल खेलकुद विकास महासंघलाई आग्रह गरे।

देशको समग्र अवस्था कमजोर हुँदा खेल क्षेत्र मात्र अगाडि बढ्न नसक्ने उनको भनाइ थियो।

जेनजी आन्दोलनलाई उनले हिंसात्मक गतिविधिका रूपमा टिप्पणी गरे। ‘देशै बर्बाद भएको छ भने खेलमात्रै कसरी अगाडि जान्छ। नेपालको हालत त्यही भएको त हो,’ उनले भने,‘भूइँचालो, कोभिडले ध्वस्त पार्‍यो हामीले उकास्ने प्रयास गर्‍यौं। तर यो कुरा सैह्य भएन। तर तोडफोड हत्या हिंसा मच्याइयो। यसलाई वैधानिकता दिने काम भइरहेको छ।’

प्रकाशित: १६ असार २०८३ १५:३९ | Tuesday, June 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast