कुशल भुर्तेलको कीर्तिमानी शतकमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

हिमाल प्रेस २१ जेठ २०८३ १६:११ | Thursday, June 4, 2026
2
SHARE
कुशल भुर्तेलको कीर्तिमानी शतकमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौँ- ओपनर कुशल भुर्तेलको कीर्तिमानी शतकीय इनिङ्सको मद्दतमा नेपालले मलेसियालाई १६७ रनको फराकिलो अन्तरले पराजित गर्दै एसीयन गेम्स क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

बिहीबार सम्पन्न समूह ‘ए’ अन्तर्गतको खेलमा नेपालले मलेसियालाई हराउँदै समूह विजेताको रूपमा अन्तिम चारमा स्थान सुरक्षित गर्‍यो।

हारका बाबजुद मलेसिया समूह उपविजेताका रूपमा सेमिफाइनलमा पुग्न सफल भयो। यसअघि चीनलाई पराजित गरेका नेपाल र मलेसियाले एसीयन गेम्समा आफ्नो स्थान भने सुनिश्चित गरिसकेका छन्।

सिंगापुर नेशनल क्रिकेट मैदानमा टस हारेर ब्याटिङको अवसर पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २७५ रनको विशाल योगफल खडा गरेको थियो।

नेपालको इनिङ्समा कुशल भुर्तेल चम्किए। उनले ५४ बलमा १४ चौका र ८ छक्काको मद्दतमा १२६ रनको विस्फोटक इनिङ्स खेले।

यो शतकसँगै कुशल टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि लगातार दुई शतक बनाउने पहिलो खेलाडी बने। उनले ४४ बलमै शतक पूरा गरेका थिए। त्यस क्रममा १० चौका र ७ छक्का प्रहार गरेका थिए।

उनलाई आशिफ शेखले साथ दिए। आशिफले २४ बलमा ५ चौका र ७ छक्कासहित ६८ रन जोडे। कप्तान दीपेन्द्रसिंह ऐरीले ११ बलमा ३१ रन बनाउँदा १ चौका र ४ छक्का प्रहार गरे।

सन्दीप जोरा १५ तथा लोकेश बम १० रनमा आउट भए भने कुशल मल्ल ९ र सोमपाल कामी १ रनमा अविजित रहे।

मलेसियाका लागि विरनदिप सिंहले ३ विकेट लिए भने सयाद अजिज र विजय युन्नीले समान २-२ विकेट हात पारे।

२७६ रनको विशाल लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १०८ रन मात्र बनाउन सक्यो।

कप्तान सयाद अजिजले सर्वाधिक ५४ रन बनाए भने सरभिन मुनिएन्डीले १८ र मुहम्मद हजिक एमानले १३ रन जोडे। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि शेर मल्ल सर्वाधिक सफल बलर बने। उनले ४ ओभरमा मात्र १४ रन खर्चेर ३ विकेट लिए। सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले समान एक/एक विकेट लिए।

प्रकाशित: २१ जेठ २०८३ १६:११ | Thursday, June 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast