म्याग्दीमा कुकुरले बाख्रा मार्न थालेपछि स्थानीय त्रसित

हिमाल प्रेस १२ असार २०८३ ७:२६ | Friday, June 26, 2026
8
SHARES
म्याग्दीमा कुकुरले बाख्रा मार्न थालेपछि स्थानीय त्रसित

म्याग्दी- म्याग्दीको मंगला गाउँपालिका-३ बरङ्जामा सामुदायिक कुकुरले टोकेर बाख्रा मर्न थालेपछि स्थानीयवासी त्रसित भएका छन्। पछिल्लो १० दिनयता बरङ्जामा कुकुरले टोकेर तीन वटा बाख्रा मरेका छन् भने ६ वटा घाइते भएका छन्।

दैनिकजसो कुकुरले टोकेर बाख्रा मार्ने र घाइते बनाउन थालेको मंगला गाउँपालिका-३ का कार्यवाहक वडाध्यक्ष भेषकुमारी पुनले बताइन्।

‘पिङ्गे, खर्क, आलडाँडा, बाहुनपँधेरा, वडा कार्यालय, खर्सुपानी क्षेत्रमा सामुदायिक कुकरले आतंक सिर्जना गरेको छ’, उनले भनिन्, ‘आतंक फैलाउने कुकुर पहिचान गरी नियन्त्रणका लागि गाउँपालिका र सिंगा तातोपानी प्रहरी चौकीको सहयोग मागेका छौँ।’

वडा कार्यालयमा रहेका पशु स्वास्थ्य प्राविधिकलाई कुकुरले टोकेर घाइते भएका बाख्राको उपचारका लागि भ्याइनभ्याइ भएको कार्यवाहक वडाध्यक्ष पुनले बताइन्।

उनका अनुसार पिङ्गेका टेकबहादुर थापाका दुई वटा र भीमबहादुर रोकाको एउटा बाख्रा कुकुरले टोकेर मरेका छन्।

वडाध्यक्ष पुनका अनुसार खर्सुपानीमा दुई, खर्कमा दुई, वडा कार्यालय नजिकै एउटा र बाहुनपँधेरामा एउटा बाख्रा कुकुरले टोकेर घाइते भएका छन्।

स्थानीय कृषक गंगाधर आचार्यका अनुसार तीन वटा कुकुर घरमा किसान नभएको मौका छोपेर गोठमा आउने गरेका छन्।

कुकुर आतंकका कारण बरङ्जावासीमा त्रास सिर्जना भएको स्थानीय महेन्द्ररत्न माविका प्रअ कृष्णलाल सापकोटाले बताए।

बरङ्जाका सबै टोलमा सार्वजनिक सूचना जारी गरेर घरपालुवा कुकुरलाई सम्बन्धित घरधनीले बाँधेर राख्ने र झारा लगाएर खोजी आतंक फैलाउने कुकुरलाई नियन्त्रणमा लिन गाउँपालिका र सुरक्षा निकायसँग सहयोग मागिएको कार्यवाहक वडाध्यक्ष पुनले जानकारी दिइन्।

प्रकाशित: १२ असार २०८३ ७:२६ | Friday, June 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast