नेपाली कांग्रेसका सभापति गगन थापा
काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसद्मा आइतबार भारत-नेपाल सीमासम्बन्धी दिएको अभिव्यक्ति निन्दनीय र घोर आपत्तिजनक रहेको बताएका छन्।
लुम्बिनी प्रदेशको रूपन्देहीमा सोमबार कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा बोल्दै थापाले प्रधानमन्त्रीको अभिव्यक्तिलाई ‘आपत्तिजनक, चिन्ताजनक र राष्ट्रहितविपरीत’ भन्दै आलोचना गरेका हुन्। उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको कांग्रेसले सम्पूर्ण रूपमा विरोध गर्ने बताए।
प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभामा बोल्दै ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएका थिए। उक्त भनाइले नेपालको सीमासम्बन्धी स्थापित राष्ट्रिय अडानलाई कमजोर बनाएको थापाको आरोप छ।
सभापति थापाले प्रधानमन्त्री वालेन्द्र शाहलाई तत्काल संसद्मा उभिएर माफी माग्न आग्रह गरेका छन्। प्रधानमन्त्रीले आफ्नो भनाइ सच्याउन अस्वीकार गरे त्यसले संविधान, राष्ट्रिय हित र लोकतान्त्रिक जवाफदेहितामाथि गम्भीर प्रश्न उठाउने थापाको चेतावनी छ। ‘संसदमा जानुस्, रोस्ट्रममा उभिनुस् र भन्नुस्, मैले नजानेर गल्ती बोलेँ। माफी माग्नुस्, सकियो,’ थापाले भने, ‘माफी माग्दिनँ, मैले जे बोलेँ ठिक बोलेँ, मसँग संख्या छ भन्नुभयो भने याद राख्नुस्, तपाईँ प्रधानमन्त्री हो, भगवान् होइन। संविधान, कानुन र राष्ट्रभन्दा माथि कोही हुँदैन।’
सीमा विवादजस्तो संवेदनशील विषयमा तथ्य, प्रमाण र ऐतिहासिक दस्तावेजको आधारबिना अभिव्यक्ति दिनु गैरजिम्मेवारपूर्ण भएको बताउँदै उनले प्रधानमन्त्रीको भनाइलाई देशद्रोही प्रवृत्तिको संकेतसमेत भने। ‘२०७४ सालमा सबै राजनीतिक दलको सहमतिमा संसद्ले पारित गरेको नेपालको नयाँ नक्सा र त्यसका आधारहरूलाई नजरअन्दाज गरेर प्रधानमन्त्रीले बोलेका छन्,’ उनले भने, ‘तथ्य र प्रमाणबिना सीमा अतिक्रमणको विषयमा यस्तो टिप्पणी गर्नु राष्ट्रहितविपरीत मात्र होइन, राष्ट्रिय अखण्डतामाथिको प्रहार पनि हो।’
प्रधानमन्त्रीले नबुझेर यस्तो बोलेका भए त्यो चिन्ताजनक र बुझेरै बोलेका भए झन् खतरनाक हुने थापाको टिप्पणी थियो। उनले प्रधानमन्त्रीले नेपाल–भारत सीमा विवादबारे सामान्य सुझबुझसमेत नराखेको प्रमाण आफैँले प्रस्तुत गरेको दाबी गरे। उनले भने, ‘ प्रधानमन्त्रीजीले नेपाल र भारतको खुला सिमानाका बारेमा सामान्य राजनीतिक सुझबुझ पनि राख्नु हुँदो रहेन भन्ने कुराको प्रमाण हिजो आफैँले दिनुभएको छ।’
थापाले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाली जनताको शिर निहुराएको र राष्ट्रिय स्वाभिमानमा चोट पुर्याएको आरोप लगाउँदै यसलाई राष्ट्रिय लज्जाको विषय भने। यसैगरी उनले नेपाल भारत सीमा विवादका विषय बेलायतसँग कुरा गर्ने विषय झन् आपत्तिजक रहेको बताए।
कार्यक्रममा थापाले आइतबार प्रतिनिधिसभाबाट बहुमतको बलमा संसद् नियमावली पारित गरिएको घटनामाथि पनि आक्रामक टिप्पणी गरे। संसद् सञ्चालनसम्बन्धी नियमावली सर्वसम्मतिबाट पारित गर्ने स्थापित अभ्यास तोडेर सत्तापक्षले बहुमतको दम्भ प्रदर्शन गरेको उनको आरोप थियो।
‘संसद् सञ्चालनको कानुन बनाउने विषयमा हिजोको दिन संघीय संसद्को इतिहासमै कालो दिनका रूपमा दर्ज भएको छ,’ उनले भने, ‘प्रतिपक्षको आवाजलाई पेलेर नियमावली पारित गर्नु लोकतान्त्रिक संस्कृतिविपरीत कदम हो।’




