काठमाडौँ- कपिलवस्तुको महाराजगन्ज नगरपालिका २ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।
धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हो । शिवपुरी लक्जरी कोच प्रालिद्वारा सञ्चालित उक्त बस आफैँ अनियन्त्रित भई डिभाइडरमा ठोक्किएपछि सडकमै पल्टिएको हो ।
दुर्घटनामा बस चालक कैलालीको धनगढी उपमहानगरपालिका १३ गेटा बस्ने ४२ वर्षीय हरिसिंह महरा, बैतडीको सिवास गाउँपालिका ६ खालाकाँडा बस्ने २५ वर्षीय चक्रबहादुर रोकाया, डोटीको दिपायल सिलगढी नगरपालिका ५ दतेडया बस्ने ३० वर्षीय भरत मल्ल, कैलालीको गोदावरी नगरपालिका १ बस्ने २८ वर्षीय विमल भट्ट, गोदावरी नगरपालिका २ बस्ने ५५ वर्षीया सीतादेवी बादी, डडेलधुरा बस्ने २९ वर्षीय नरेन्द्र ताम्राकार, उनकी श्रीमती २५ वर्षीया आलिया ताम्राकार, २ वर्षीय सुदर्शन ताम्राकार, जिल्ला बझाङ थलारा गाउँपालिका ५ बस्ने २३ वर्षीय विनोद सत्कुली, बैतडी पुरचौडी नगरपालिका ८ मल्लादोही बस्ने १५ वर्षीय लोचन विष्ट, उनका बुबा ४५ वर्षीय कृष्णबहादुर विष्ट घाइते भएका छन् ।
त्यस्तै कैलालीको धनगढी उपमहानगरपालिका १८ फूलबारी बस्ने ७७ वर्षीय गणपति भागरी, घोडाघोडी नगरपालिका ६ जवलपुर बस्ने २४ वर्षीय अखिलकुमार ठडिया, चितवन भरतपुर महानगरपालिका २६ बस्ने ६५ वर्षीय भद्रकृष्ण मिश्र, कैलालीको धनगढी उपमहानगरपालिका १८ बस्ने २४ वर्षीय गोपाल पौडेल, डडेलधुरा गाउँपालिका १ बस्ने ४० वर्षीय केशबहादुर देउवा, दार्चुलाको नौगाड गाउँपालिका ४ सिवाटी बस्ने ३३ वर्षीय प्रभानन्द ठकुन्ना, कैलालीको धनगढी उपमहानगरपालिका १८ बस्ने २२ वर्षीया दीपिका भण्डारी, घोडाघोडी नगरपालिका ९ बस्ने ३६ वर्षीय प्रकाश रोकाया, बझाङको थलारा गाउँपालिका ५ बस्ने २३ वर्षीय किश्वर बोहोरा तथा डडेलधुरा गन्यापधुरा गाउँपालिका ३ बस्ने ४० वर्षीया पार्वती बोहोरा घाइते भएका छन् ।
घाइतेमध्ये अधिकांशको टाउको, हात, खुट्टा, छाती, कम्मर तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। सबैलाई जिल्ला अस्पताल तौलिहवामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मेडिकल कलेज भैरहवा रिफर गरिएको छ।
बसमा चालकसहित ४६ जना सवार रहेकोमा २४ जनालाई अर्को सवारीमार्फत गन्तव्यतर्फ पठाइएको छ। दुर्घटनापछि बसलाई क्रेनको सहायताले हटाइएपछि सडक दुवैतर्फ सञ्चालनमा आएको छ ।




