६.७६ प्रतिशतले घट्यो खाद्यान्न उत्पादन

हिमाल प्रेस ३१ जेठ २०८३ १६:२८ | Sunday, June 14, 2026
12
SHARES
६.७६ प्रतिशतले घट्यो खाद्यान्न उत्पादन

काठमाडौँ- नेपालमा खाद्यान्न तथा अन्य बालीहरूको उत्पादन ६.७६ प्रतिशतले घटेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो आर्थिक गतिविधिसम्बन्धी अध्ययनअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिना (साउनदेखि पुस मसान्तसम्म) मा खाद्यान्न उत्पादन घटेको हो। गत आर्थिक वर्षको सोही अवधिमा खाद्यान्न तथा अन्य बाली उत्पादन १.७७ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा कुल खाद्यान्न तथा बाली उत्पादनमा धानको हिस्सा सबैभन्दा ठूलो छ, जसले कुल उत्पादनको ३७.४६ प्रतिशत ओगटेको छ। त्यसपछि मकैको हिस्सा २०.४३ प्रतिशत र गहुँको १०.७५ प्रतिशत छ।

अध्ययनअनुसार धानको उत्पादकत्व अघिल्लो वर्षको तुलनामा सामान्य रूपमा घटेको छ। यद्यपि तरकारी तथा बागवानी उत्पादन १.०२ प्रतिशतले बढेको छ, जुन अघिल्लो वर्षको ३.६६ प्रतिशत वृद्धिभन्दा कम हो।

फलफूल उत्पादन भने ६.५१ प्रतिशतले बढेको छ। यो अघिल्लो वर्षको सोही अवधिमा ३.७६ प्रतिशत वृद्धि भएको थियो। मसला उत्पादन ५.७० प्रतिशतले घटेको छ। यद्यपि अघिल्लो वर्षको १७.९४ प्रतिशतको गिरावटको तुलनामा यो कमी कम रहेको देखिन्छ।

प्रतिवेदनअनुसार कर्णाली प्रदेशबाहेक सबै प्रदेशमा खाद्यान्न तथा अन्य बाली उत्पादन घटेको छ। तरकारी तथा बागवानी उत्पादन मधेश, बागमती र लुम्बिनी प्रदेशमा बढेको छ भने फलफूल उत्पादन मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशमा वृद्धि भएको छ। मसला उत्पादन गण्डकी र लुम्बिनी प्रदेशमा मात्र बढेको छ।

धान उत्पादनमा कोशी प्रदेशको हिस्सा सबैभन्दा बढी २५.७६ प्रतिशत छ भने कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम २.५४ प्रतिशत छ। कुल खाद्यान्न तथा बाली उत्पादनमा पनि कोशी प्रदेशकै हिस्सा सबैभन्दा बढी २७.२६ प्रतिशत छ। कर्णालीको हिस्सा ५.५२ प्रतिशत मात्र छ।

अध्ययनले खाद्यान्न तथा अन्य बालीअन्तर्गत खेती गरिएको जमिन क्षेत्रफलमा पनि गिरावट देखाएको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा यस्तो खेतीयोग्य जमिन ४.२१ प्रतिशतले घटेको छ, जुन अघिल्लो वर्ष सोही अवधिमा २.९२ प्रतिशतले घटेको थियो।

धानले खेती गरिएको जमिनको सबैभन्दा ठूलो हिस्सा ३६.८२ प्रतिशत ओगटेको छ, त्यसपछि मकै २३.४६ प्रतिशत र गहुँ १४.२२ प्रतिशत छन्। कोदोले ५.५८ प्रतिशत क्षेत्रफल ओगटेको छ भने जौले ०.३९ प्रतिशत मात्र जमिन ढाकेको छ।

तरकारी तथा बागवानी खेतीको क्षेत्रफल ९.१० प्रतिशतले बढेको छ भने फलफूल खेतीको क्षेत्रफल ०.७९ प्रतिशतले वृद्धि भएको छ। यसविपरीत मसला खेती गरिएको जमिन ६.६६ प्रतिशतले घटेको छ।

प्रदेशगत रूपमा हेर्दा खाद्यान्न तथा अन्य बालीको क्षेत्रफल बागमती र कर्णाली प्रदेशमा मात्र बढेको देखिन्छ। मधेश प्रदेशमा तरकारी तथा बागवानी खेतीको सबैभन्दा ठूलो हिस्सा ३२.२४ प्रतिशत रहेको छ भने मसला खेतीमा कोशी प्रदेशको हिस्सा ४०.१३ प्रतिशत छ।

प्रकाशित: ३१ जेठ २०८३ १६:२८ | Sunday, June 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast