काठमाडौँ- सुन तथा चाँदी दुवैको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले बढेर २ लाख ८८ हजार ७०० रुपैयाँ पुगेको छ। १० ग्राम सुनको मूल्य २ लाख ४७ हजार ५१५ रुपैयाँ कायम गरिएको छ।
यसअघि असार ७ गते सुन प्रतितोला २ लाख ८७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ४० रुपैयाँले वृद्धि भई ४ हजार ७३० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ६९० रुपैयाँमा कारोबार भएको थियो।
आज १० ग्राम चाँदीको मूल्य ४ हजार ५५ रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य उतारचढावका आधारमा नेपाल सुनचाँदी व्यवसायी महासंघले दैनिक रूपमा स्थानीय बजारका लागि सुन तथा चाँदीको मूल्य निर्धारण गर्दै आएको छ।




