विष्णुप्रसाद पौडेलको गिरफ्तारी पूर्वाग्रही र प्रतिशोधपूर्ण : शंकर पोखरेल

हिमाल प्रेस ९ असार २०८३ ७:२८ | Tuesday, June 23, 2026
10
SHARES
विष्णुप्रसाद पौडेलको गिरफ्तारी पूर्वाग्रही र प्रतिशोधपूर्ण : शंकर पोखरेल

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्ना उपाध्यक्ष विष्णु पौडेलको पक्राउ न्याय प्रक्रियाविपरीत भएको दाबी गरेका छन्। सम्पत्ति शुद्धीकरण मामिलामा पूर्वअर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष पौडेललाई प्रहरीले सोमबार सुर्खेतबाट गिरफ्तार गरेको छ।

त्यसलगत्तै एमाले महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका हुन्। जसमा उनले राज्यको अनुसन्धान गर्ने निकाय नै अदृश्य शक्तिबाट सञ्चालन भइरहेको देखिएको दाबी पनि गरेका छन्।

‘कुनै पनि विषयमा पहिले निष्पक्ष र गहिरो अनुसन्धान गर्ने, तथ्य र प्रमाण संकलन गर्ने, र अभियोजन (मुद्दा दायर) पश्चात् अदालतको निर्णयका आधारमा अगाडि बढ्ने प्रक्रिया नै न्यायसम्मत हुन्छ भन्ने मान्यताका विपरीत नेकपा एमाले का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पार्टी कार्यक्रममा सहभागी हुन सुर्खेत आएका बेला नियोजित रूपमा नियन्त्रणमा लिने काम भएको छ’, उनले सोमबार राति लेखेका छन्, ‘केही समय पहिले सम्पत्ति शुद्धीकरण विभागका डीजीले फोनमा कुराकानी गरेर मंगलबार काठमाडौँमा आएपछि सम्पर्कमा आउनुहोला भनेर अनुरोध गरेको र त्यसको केही समयपश्चात् सुर्खेत प्रहरीलाई पत्राचार गरेर नियन्त्रणमा लिन निर्देशन दिएको घटनाले राज्यका अनुसन्धान गर्ने निकायलाई अदृश्य शक्तिकेन्द्रले सञ्चालन गरेको देखिन्छ।’

महासचिव पोखरेलले अगाडि लेखेका छन्, ‘उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारी उक्त मान्यताको विपरीत पूर्वाग्रही र प्रतिशोधपूर्ण देखिन्छ। सस्तो लोकप्रियताका लागि सरकारको निर्देशनमा भएको यसप्रकारको प्रतिशोधपूर्ण कार्यको कानुनी र राजनीतिक रूपमा दृढतापूर्वक प्रतिवाद गरिनेछ।’

 

प्रकाशित: ९ असार २०८३ ७:२८ | Tuesday, June 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast