नेकपा एमालेका महासचिव शंकर पोखरेल
काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले ऊर्जा क्षेत्रको विकास र त्यसको उपयोगबारे सरकार उल्टो बाटोमा हिँडेको आरोप लगाएका छन् ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि र अभावबाट बच्न भन्दै दुई दिन सार्वजनिक बिदा घोषणा गर्ने सरकारले अब ५० युनिट माथिको विद्युत् प्रयोग गर्ने उपभोक्तामाथि समेत भ्याट लगाउने निर्णय गरेको छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘आखिर यस्तो अविवेकी निर्णय कसको हितमा?’
नेपाल जलस्रोतमा विश्वकै धनी राष्ट्रमध्ये एक भएको उल्लेख गर्दै उनले स्वदेशी ऊर्जा उत्पादन र उपभोगलाई प्रोत्साहन गर्नुपर्ने बेला विद्युत् प्रयोगकर्तामाथि थप करको भार थोपर्नु नेपाली जनतालाई आफ्नै प्राकृतिक स्रोतको उपयोगबाट निरुत्साहित गर्ने कदम भएको उल्लेख गरेका छन् ।
पेट्रोलियम प्रोडक्टको अभाव र मुल्यवृद्धि भएको समयमा ग्रिन इनर्जीलाई प्रवर्धन गर्नुपर्नेमा विद्युतीय गाडीको प्रयोगलाई समेत दुरुत्साहन गर्नेगरी करको भार थोपर्ने कामसमेत बजेटमार्फत गरिएको उनको भनाइ छ ।
‘यदि बजेटको आकार बढाउने नाममा आयश्रोत देखाउन यस्तो निर्णय हुनपुगेको हो भने सरकारले तत्काल आफ्नो गल्ती सच्याउनुपर्दछ,’ उनले भनेका छन्, ‘सरकार आफैले नाफा लिएर बिक्री गरेको विद्युत् खपत वृद्धि हुँदा भ्याट लगाएर जनताको ढाड सेक्ने होइन, आयात प्रतिस्थापन र उत्पादनशील क्षेत्रमा त्यसको अधिकतम् उपयोग गर्न प्रेरित गर्नुपर्दछ ।’




