विदेशमा अचारको माग ह्वात्तै बढ्यो :  १० महिनामा झन्डै २० करोडको निर्यात

हिमाल प्रेस २६ जेठ २०८३ १५:२२ | Tuesday, June 9, 2026
6
SHARES
विदेशमा अचारको माग ह्वात्तै बढ्यो :  १० महिनामा झन्डै २० करोडको निर्यात एआईको सहयोगमा तयार पारिएको ग्राफिक्स।

काठमाडौँ- नेपाली भान्साको अभिन्न परिकारका रूपमा चिनिएको अचार अब देशको निर्यात व्यापारको प्रमुख वस्तु बन्दै गएको छ। भात, दाल र तरकारीसँग स्वाद थप्ने अचार सिमाना नाघेर विश्वका विभिन्न मुलुकका भान्सासम्म पुगेको हो। विदेशमा रहेका नेपालीको स्वादिलो मोहले अचारलाई करोडौँ रुपैयाँको अन्तर्राष्ट्रिय व्यापारमा रूपान्तरण गरिदिएको छ।

भन्सार विभागको पछिल्लो तथ्यांकले नेपाली अचारको बढ्दो विश्वव्यापी लोकप्रियताको रोचक चित्र प्रस्तुत गर्छ। आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा नेपालले १९ करोड ६४ लाख ४० हजार रुपैयाँ बराबरको ३९०.५८ टन अचार निर्यात गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा परिमाणतर्फ १७४.४३ प्रतिशत र मूल्यतर्फ ५५.९९ प्रतिशतको उल्लेखनीय वृद्धि हो। आव २०८१/८२ को यही अवधिमा १२ करोड ५९ लाख ३० हजार रुपैयाँ बराबरको १४२.३२ टन अचार निर्यात भएको थियो।

नेपाली अचारको सबैभन्दा ठूलो बजार बेलायत बनेको छ। समीक्षा अवधिमा ९५.११ टन अचार त्यहाँ पुगेको छ, जसको मूल्य तीन करोड २८ लाख ४० हजार रुपैयाँ रहेको छ। अस्ट्रेलियाले ७३ टन र क्यानडाले ७१ टन अचार आयात गर्दै क्रमशः दोस्रो र तेस्रो स्थान ओगटेका छन्। इटाली, जापान र दक्षिण कोरियामा नेपाली अचारको माग उल्लेखनीय रूपमा बढिरहेको छ।

भन्सार विभागले आर्थिक वर्ष २०७७/७८ देखि अचारको व्यापारसम्बन्धी तथ्यांक संकलन गर्न थालेको हो। त्यसबेला नेपालबाट ३९ लाख २० हजार रुपैयाँ मूल्य बराबरको ११.०४ टन अचार निर्यात भएको थियो। त्यसयता हरेक वर्ष अचार निर्यात उल्लेखनीय रूपमा बढ्दै गएको छ। आर्थिक वर्ष २०७८/७९ मा निर्यात पाँच गुणाभन्दा बढी वृद्धि भई तीन करोड ८६ लाख ६० हजार रुपैयाँ बराबरको ५९.९८ टन पुगेको थियो। आर्थिक वर्ष २०७९/८० मा यो परिमाण बढेर एक सय ६१ टन पुगेको थियो। त्यसको मूल्य १० करोड ९८ लाख ४० हजार रुपैयाँ थियो। आर्थिक वर्ष २०८०/८१ मा अचार निर्यात २१८.१२ टन पुगेको थियो। यसको कुल मूल्य १८ करोड २६ लाख ४० हजार रुपैयाँ बराबर थियो।

विशेषज्ञहरूका अनुसार अचार निर्यात वृद्धिको मुख्य आधार विदेशमा फैलिएको नेपाली समाज हो। अध्ययन, रोजगारी वा बसाइँ सराइका कारण विदेश पुगेका नेपालीका लागि अचार घरको सम्झना र भावनात्मक सम्बन्धको प्रतीक पनि हो। यही कारणले सुरुमा नेपाली समुदायभित्र सीमित रहेको माग विस्तार हुँदै अन्तर्राष्ट्रिय सुपरमार्केटसम्म पुगेको छ। नेपाली स्वादसँग परिचित हुँदै गएका विदेशी उपभोक्ताले समेत अचारलाई नयाँ स्वादका रूपमा स्वीकार्न थालेका छन्।

बढ्दो अन्तर्राष्ट्रिय मागले स्वदेशमा अचार उद्योगको विस्तारलाई समेत तीव्रता दिएको छ। देशका विभिन्न भागमा दर्जनौँ अचार उद्योग सञ्चालनमा आएका छन्। तीमध्ये अधिकांश महिला उद्यमीले स्थापना गरेका उद्योग हुन्, जसले स्थानीय महिलालाई रोजगारी र आर्थिक सशक्तीकरणको अवसरसमेत प्रदान गरिरहेका छन्।

‘आमाको अचार’, ‘किचेन रेसिपी’, ‘घरको अचार’, ‘देसाना’, ‘अचार फ्रिक’ र ‘अञ्जनाको अचार’ जस्ता ब्रान्डहरूले नेपाली अचारलाई विश्व बजारमा चिनाउने काम गरिरहेका छन्। अकबरे खुर्सानी, अमिलो लप्सी, कागती, मुला, आँप र लसुनका अचार त लोकप्रिय छन् नै, पछिल्लो समय कुखुरा, भैँसी, माछा र खसीको मासुबाट बनेका अचारको माग पनि उल्लेख्य रूपमा बढ्दै गएको छ।

प्रकाशित: २६ जेठ २०८३ १५:२२ | Tuesday, June 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast