काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमणका क्रममा बेइजिङ पुगेका छन्। उनी चिनियाँ विदेशमन्त्री वाङ यी को निमन्त्रणामा भ्रमणमा गएका हुन्।
बेइजिङस्थित नेपाली दूतावास बेइजिङका अनुसार मन्त्री खनाल स्थानीय समयअनुसार अपराह्न बेइजिङ पुगेका हुन्। विमानस्थलमा उनलाई चीनका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाल तथा चिनियाँ विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए।
मन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आज साँझ स्वागत समारोह आयोजना गर्नेछ, जहाँ उनले चीनमा रहेका नेपाली समुदायसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।
भ्रमणका क्रममा उनले चिनियाँ समकक्षी वाङ यीसँग नेपाल-चीन सम्बन्ध सुदृढ गर्ने, सहकार्य विस्तार गर्ने तथा विभिन्न उच्चस्तरीय भेटवार्ता गर्ने छन्।
यसैगरी, वैदेशिक लगानी प्रवर्द्धनका लागि आयोजना हुने लगानी सम्मेलनमा पनि उनले सहभागिता जनाउनेछन् र चिनियाँ व्यवसायीहरूसँग छलफल गर्ने कार्यक्रम छ।
मन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किने तालिका रहेको छ।




