काठमाडौँ- सरकारले कक्षा १२ को नतिजा प्रक्रियाबारे उठेका प्रश्नहरू छानबिन गर्न समिति गठन गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयल तथा पाठ्यक्रम विकास केन्द्रका उपसचिवहरूको प्रतिनिधित्व रहने समिति गठन गरिएको हो।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नतिजा प्रक्रियाबारे उठेका जिज्ञासा र प्रश्नहरूको निष्पक्ष परीक्षणका लागि समिति गठन गरिएको जानकारी दिएका छन्।
समितिले उत्तर पुस्तिकाको स्याम्पलिङ परीक्षण गर्नुका साथै परीक्षाङ्क र डेटा इन्ट्रीको भेरिफेकसन गर्ने उनले बताएका छन्।
कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको काठमाडौँमा प्रदर्शन गरिरहेका छन्। नतिजा प्रकाशन र मूल्यांकन प्रक्रियामा त्रुटि भएको, पुनर्मूल्यांकन तथा रिटोटलिङको प्रभावकारी व्यवस्था नभएको भन्दै उनीहरू प्रदर्शनमा उत्रिएका हुन्।
शिक्षा मन्त्री पोखरेलले नतिजासम्बन्धी विषयमा शान्तिपूर्ण रूपमा भइरहेका आन्दोलनप्रति सम्मान व्यक्त गर्दै लोकतान्त्रिक समाजमा नागरिकले आफ्नो धारणा राखे अधिकारको सम्मान गर्नुपर्ने उल्लेख गरेका छन्।
सामाजिक सञ्जालम विद्यार्थीहरूप्रति भएका केही नकारात्मक तथा असम्मानजनक टिप्पणीप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै उनले आन्दोलनरत विद्यार्थी वा कुनै पनि समूहप्रति गालीगलौज, दुव्र्यवहार तथा अपमानजनक टिप्पणी नगर्न आग्रह गरेका छन्।
मन्त्री पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले नतिजा समयमै प्रकाशन गर्न कुनै हतार नगरेको समेत बताएका छन्। आवश्यक जनशक्ति थप गरी तथा अनावश्यक प्रशासनिक प्रक्रिया छोट्याएर नतिजा प्रकाशित हुनुपर्ने समयमा नै सार्वजनिक गरिएको उनको भनाइ छ।
‘राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रक्रियाबारे मेरो धारणा मैले यसअघि पनि सार्वजनिक गरिसकेको छु। यस प्रक्रियाप्रति हामी स्पष्ट र विश्वस्त छौँ। नतिजा समयमै प्रकाशन गर्न कुनै हतारो गरिएको छैन, बरु आवश्यक जनशक्ति थप गरी र अनावश्यक प्रकासनिक प्रक्रिया छोट्याएर नतिजा प्रकाशित हुनुपर्ने समयमा नै प्रकाशित गरिएको हो,’ मन्त्री पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्।
यसैबीच मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा, कक्षा १२ तथा विश्वविद्यालयस्तरीय परीक्षाको नतिजा विगतको तुलनामा निकै छिटो प्रकाशन हुन थालेको बताउँदै यसले शिक्षा क्षेत्रमा सुशासन र सेवा प्रवाहको प्रभावकारिता बढाएको उल्लेख गरेको छ।




