इतिहास रचेर बिदा हुँदै फ्रान्सेली प्रशिक्षक डेसच्याम्प्स

हिमाल प्रेस २६ जेठ २०८३ ११:१५ | Tuesday, June 9, 2026
28
SHARES
इतिहास रचेर बिदा हुँदै फ्रान्सेली प्रशिक्षक डेसच्याम्प्स

विश्वकप फुटबल खेलहरूसँगै डिडियर डेसच्याम्प्सले फ्रान्स टोलीलाई बिदाइ गर्ने तयारी गरेसँगै एउटा युगको अन्त्य हुनेछ। सन् १९९८ मा विश्वकप विजेता कप्तान बनिसकेका डेसच्याम्प्स सन् २०१८ मा फ्रान्सलाई फुटबलको सबैभन्दा ठूलो उपाधि दिलाएर खेलाडी र प्रशिक्षक दुवैको रूपमा विश्वकप जित्ने इतिहासकै तेस्रो व्यक्ति बनेका थिए।

फ्रान्सले आगामी विश्वकप खेल्दा उनको १४ वर्षे कार्यकालको अन्त्य हुनेछ। अमेरिका प्रस्थान गर्नुअघि ५७ वर्षीय यी प्रशिक्षकले सोमबार लिलेमा उत्तरी आयरल्यान्डविरुद्ध हुने मैत्रीपूर्ण खेलमा अन्तिम पटक घरेलु मैदानमा आफ्नो देशको नेतृत्व गरे।

‘फ्रान्सेली टोलीसँग यति लामो समय बिताएपछि डिडियरको मानसिक अवस्था कस्तो होला, म कल्पना गर्न सक्छु,’ मिडफिल्डर एड्रियन र्याबियोटले भने, ‘हामी सबै मानिस हौं, हामीसँग सहानुभूति, भावना र त्यससँगै आउने सबै कुराहरू हुन्छन्। प्रशिक्षकले फ्रान्सेली टोलीसँग उत्कृष्ट काम गर्नुभएको छ र म आशा गर्छु कि उहाँको सम्मानमा उत्सव मनाइनेछ, किनकि उहाँ यसको हकदार हुनुहुन्छ।’

र्याबियोटले अनुमान गरेजस्तै लिलेमा उत्सवको माहोल बन्याे। आयरल्यान्डलाई ३-१ गाेल अन्तरले फ्रान्सले हरायो।

यसअघि बिहीबार नान्टेसमा भएको खेलमा फ्रान्स आइभोरी कोस्टसँग २-१ को अप्रत्याशित हार बेहोर्न पुगेको थियो। प्रशंसकहरूले खेलको दौरान डेसच्याम्प्सको तस्बिर अंकित कार्डबोर्डका कट-आउटहरू प्रदर्शन गरेर उनीप्रति सम्मान व्यक्त गरेका थिए।

तर प्रशिक्षक स्वयम् भने आफ्नो बिदाइका कारण टोलीको बिदाइ ओझेलमा परोस् भन्ने चाहँदैनन्। ‘म क्याम्पमा आएदेखि नै मैले धेरै कुराहरू अन्तिम पटक गरिरहेको छु,’ उनी भन्छन्,‘त्यसैले म यी सबै कुराहरूको बारेमा धेरै नसोच्ने प्रयास गर्दैछु। म धेरै दुःखी पनि छैन र म यसमा खुसी हुनेवाला पनि छैन। मेरा लागि के महत्त्वपूर्ण छ भने यो मेरो व्यक्तिगत मामिलाभन्दा धेरै माथिको कुरा हो।’

फ्रान्सलाई पछिल्लो विश्वकप फाइनल, युरो २०१६ को फाइनल र २०२१ मा नेसन्स लिगको उपाधिसम्म पुर्‍याएका डेसच्याम्प्सले यस सम्मानका लागि फ्रान्सेली समर्थकहरूलाई धन्यवाद दिए।

‘लेस ब्लेज’ (फ्रान्स टोली) ले अमेरिकामा हुने समूह ‘आई’ मा सेनेगल, इराक र एर्लिङ हालान्डको नर्वेसँग खेल्नेछ। डेसच्याम्प्स फाइनल खेलहरूका लागि प्रस्थान गर्नुअघि प्रशंसकहरूबाट सकारात्मक ऊर्जा चाहन्छन्।

‘त्यो सम्मान राम्रो थियो र खेल चलिरहेको बेला र खेलाडीहरू खेलिरहेका भए तापनि म मैदानमा के भइरहेको छ भन्ने कुरामा ध्यान केन्द्रित गर्ने प्रयास गरिरहेको थिएँ,’ उनले थपे, ‘हामी अमेरिका जानुअघि फ्रान्समा हुने यी दुई खेलहरूमा समर्थकहरू र अमेरिका जान नसक्ने धेरै मानिसहरूको नजिक हुन पाइरहेका छौँ। हामी समर्थकहरूबाट जति सक्दो धेरै ऊर्जा र राम्रो वातावरण बटुल्ने प्रयास गरिरहेका छौँ र यी फ्रान्सेली टोलीका लागि सकारात्मक कुराहरू हुन्।’

‘उहाँले सबैलाई समेट्नुहुन्छ’

प्रशिक्षकको रूपमा यति लामो कार्यकाल सम्हालेका डेसच्याम्प्सको मुख्य शक्ति खेलाडीहरूलाई एकजुट गराउने क्षमता भएको एसी मिलानका मिडफिल्डर र्याबियोटले बताए।

‘उहाँले सबैलाई समेट्नुहुन्छ। यो साँच्चै महत्त्वपूर्ण छ र यसरी टोली निर्माण गर्न सक्नु निकै महत्वपूर्ण हुन्छ। प्रशिक्षण पूर्ण रूपमा व्यावसायिक हुन्छ तर यसमा थोरै रमाइलो पनि हुन सक्छ। यस्तो मिश्रण हुनु महत्त्वपूर्ण छ, विशेष गरी विश्वकप जस्तो प्रतियोगितामा प्रवेश गर्दा। यो कठिन हुन सक्छ। यो एक लामो प्रतियोगिता हो र उहाँको शक्ति सायद आफ्ना खेलाडीहरूको व्यवस्थापन नै हो,’ उनले भने।

डिडियर डेसच्याम्प्सलाई प्रशंसकहरूद्वारा सम्मान गरिँदै

आइभोरी कोस्टसँगको अप्रत्याशित हारका बाबजुद डेसच्याम्प्स टोलीको आत्मविश्वासमा कुनै कमी नआएको महसुस गर्छन्। उक्त हारको खेल गुमाएका आर्सनलका डिफेन्डर विलियम सालिबा र पीएसजीबाट च्याम्पियन्स लिग विजेता बनेका ओसमाने डेम्बेले र डेजिरे डोउए सबै लिलेमा खेल्नका लागि उपलब्ध छन्।

विश्वकप अघि मैत्रीपूर्ण खेल खेल्दा लाग्न सक्ने चोटको चिन्ता र डरबारे सोधिएको प्रश्नमा र्याबियोटले जुन १६ मा न्यु जर्सीमा सेनेगलविरुद्ध खेल्नुअघि यो ‘अन्तिम रिहर्सल’ भएको बताए।

‘हामी यो खेललाई मैत्रीपूर्ण खेलको रूपमा मात्र लिइरहेका छैनौँ।  हामी राम्रो प्रदर्शन गर्न चाहन्छौँ र खेलेर आनन्द लिन चाहन्छौँ। हामी यस क्षणको मजा लिन चाहन्छौँ। ५० प्रतिशत मात्र दिएर खेल्न सुरु गर्नु एकदमै गाह्रो र जटिल हुन्छ’ उनले भने।बीबीसी

प्रकाशित: २६ जेठ २०८३ ११:१५ | Tuesday, June 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast