कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर।
काठमाडौँ- नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारीस्वरूप सञ्चालन गरेको क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत हालसम्म ६ लाख ८७ हजार ९३१ सदस्यको विवरण डिजिटल प्रणालीमा प्रविष्ट भएको जनाएको छ।
पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा शुक्रबार ललितपुरस्थित केन्द्रीय कार्यालयमा बसेको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले अभियानको प्रगति सार्वजनिक गर्दै अद्यावधिक प्रक्रिया थप व्यवस्थित बनाउने विभिन्न निर्णय गरेको हो।
समितिका अनुसार डिजिटल प्रणालीमा रहेका कुल ७ लाख ८२ हजार २०९ क्रियाशील सदस्यमध्ये जेठ २८ गते राति १२ बजेसम्म ६ लाख ८७ हजार ९३१ सदस्यको विवरण प्रणालीमा प्रविष्ट भइसकेको छ। तीमध्ये पाँच लाख ३८ हजार ६ सय २२ सदस्यले एनसीआईडी (एनसीआईडी) प्राप्त गरिसकेका छन् भने एक लाख ४९ हजार तीन सय नौ सदस्यका स्वयं अद्यावधिक फाराम वडा तहबाट अनुमोदन हुने प्रक्रियामा छन्।
बैठकले वडा तहमा पुगेका अनलाइन फाराम असार ५ गतेभित्र अनुमोदन गरिसक्न निर्देशन दिएको छ। तोकिएको समयभित्र अनुमोदन नभए विधानअनुसार योग्य सदस्यहरूको सदस्यता केन्द्रबाट स्वतः अनुमोदन गरिने व्यवस्था मिलाइने निर्णय गरिएको छ।
इन्टरनेट पहुँच न्यून भएका उच्च हिमाली तथा विकट पहाडी क्षेत्रका केही जिल्ला तथा सदस्यता अद्यावधिक ढिलाइ भएका बारा र खोटाङ जिल्लाका लागि सदस्यता अद्यावधिकको समय असार ७ गतेसम्म थपिएको छ। विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूका लागि भने यो समयसीमा असार १० गतेसम्म कायम गरिएको छ।
त्यसैगरी नयाँ क्रियाशील सदस्यता वितरण तथा फाराम प्रविष्ट गर्ने कार्य असार २० गतेसम्म जारी रहने समितिले जनाएको छ। सो अवधिसम्म सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्दा विधानबमोजिमको शुल्क अनिवार्य रूपमा बुझाउनुपर्ने निर्णय पनि गरिएको छ। शुल्क नबुझाउने सदस्यले १५औँ महाधिवेशन प्रक्रियामा भाग लिन नपाउने समितिले स्पष्ट गरेको छ।
बैठकले विभिन्न कारणले समयमै अद्यावधिक गर्न छुटेका सदस्यलाई प्रमाणसहित असार २० गतेभित्र केन्द्रीय कार्यालयमा निवेदन दिने व्यवस्था गरेको छ। त्यस्तै सदस्यता अद्यावधिक हुन बाँकी रहेका वडाहरूले आवश्यक कारणसहित थप समय माग गर्न सक्ने व्यवस्था पनि गरिएको छ।
कांग्रेसले युवालाई पार्टीमा आकर्षित गर्न ३५ वर्षमुनिका युवालाई लक्षित गरी क्रियाशील सदस्यता वितरण अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ। साथै विषयविज्ञ (लेटरल इन्ट्री) र विदेशमा रहेका पुराना क्रियाशील सदस्यहरूको सदस्यता नवीकरण तथा अद्यावधिकको समय पनि असार २० गतेसम्म कायम गरिएको छ।
बैठकले सदस्यता आवेदनका क्रममा नाम, ठेगाना वा अन्य व्यक्तिगत विवरणमा त्रुटि भएका सदस्यलाई सम्बन्धित प्रमाणसहित असार मसान्तसम्म सच्याउन सक्ने व्यवस्था मिलाएको छ। यसका लागि प्रदेशगत रूपमा छुट्टाछुट्टै इमेलमार्फत आवेदन दिन सकिने जनाइएको छ।
समितिले क्रियाशील सदस्यता अद्यावधिक तथा नयाँ सदस्यता वितरणको कार्यलाई १५औँ महाधिवेशनको मूल कार्यतालिका प्रभावित नहुने गरी व्यवस्थापन गर्न केन्द्रीय समितिमा सिफारिस गर्ने निर्णय पनि गरेको छ।




