होर्मुज जलमार्ग।
फाइल तस्बिर : एपी/रासस
इरान र ओमान हर्मुज जलघाँटी पार गर्ने जहाजका लागि नयाँ समुद्री मार्ग र संयुक्त व्यवस्थापनको ढाँचामा सहमतिको अन्तिम चरणमा पुगेका छन्।
इरानले भने रणनीतिक जलमार्ग पूर्णरूपमा सहज बनाउन अमेरिकाले इरानी बन्दरगाहमाथिको नौसैनिक नाकाबन्दी हटाउनुपर्ने अडान दोहोर्याएको छ।
इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईका अनुसार प्रस्तावित समुद्री मार्गको भौगोलिक निर्देशाङ्कमा दुवै देशबीच सहमति भइसकेको छ भने संयुक्त वक्तव्य पनि चाँडै सार्वजनिक हुन सक्ने तयारी छ। उनले तत्काल सबै जहाजका लागि हर्मुज पूर्ण रूपमा सुरक्षित भइसकेको निष्कर्ष निकाल्न नहुने बताए।
यसैबीच, हुथी विद्रोहीले दुई साउदी तेल ट्याङ्करमाथि क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् भने बेलायती समुद्री सुरक्षा निकायले ओमान नजिक एक तेल ट्याङ्करले दुई विस्फोटको आवाज सुनेको जनाएको छ।
युद्धअघि विश्वको करिब पाँचौँ भाग तेल तथा एलएनजी निर्यात हर्मुजमार्फत हुने भएकाले यस क्षेत्रमा जारी तनावले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा असर पारिरहेको छ।


