ताप्लेजुङ- जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले सात वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ।
सरकारी कागज कीर्ते मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार भएकी ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–२ स्थायी घर भई हाल फुङलिङ नगरपालिका–२ बसोबास गर्दै आएकी अरुणा कार्कीलाई प्रहरीले पक्राउ गरेको हो।
उक्त मुद्दामा अदालतबाट उनलाई ११ महिना तीन दिन कैद तथा रु ६६ हजार ६६७ जरिवाना तोकिएको थियो।
प्रहरीका अनुसार फरार प्रतिवादीको खोजतलास गर्ने क्रममा उनलाई बिहीबार फुङलिङ नगरपालिका–५ वीरेन्द्रचोक क्षेत्रबाट लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको हो।
पक्राउ परेकी कार्कीलाई सजाय भुक्तानका लागि जिल्ला अदालत ताप्लेजुङमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए।
यसैबीच, ताप्लेजुङ प्रहरीले लागुऔषध खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार फुङलिङ नगरपालिका–५ का २२ वर्षीय सलोन भनिने जगत श्रेष्ठ, फक्ताङ्लुङ गाउँपालिका–१ का १९ वर्षीय यमराज लिम्बू र फुङलिङ नगरपालिका–२ का २३ वर्षीय ज्ञानेन्द्र गुरुङ पक्राउ परेका हुन्।



