काठमाडौँ- हतियार देखाएर शृंखलाबद्ध लुटपाटमा संलग्न दुई जना पक्राउ परेका छन्। काठमाडौँ महानगरपालिका-२९ इन्द्रचोकस्थित एक सुनचाँदी पसलमा हतियार देखाइ लुटपाटको प्रयास गरेको अभियोगमा दुई जनालाई काठमाडौँ प्रहरीले पक्राउ गरेको हो।
लुटपाटमा संलग्न भक्तपुरको थिमी नगरपालिका-९ बोडे बस्ने ३० वर्षीय विकेश राजवाहक र काठमाडौँ महानगरपालिका-१९ डल्लु बस्ने ३४ वर्षीय अरुण भुजेललाई जिल्ला प्रहरी पसिसर काठमाडौँको टोलीले पक्राउ गरेको हो।
उनीहरूबाट चिनियाँ पेस्तोल र त्यसको म्यागजिन, गोली र एक थान तथा सो समयमा प्रयोग भएको कपडा र स्कुटरसमेत बरामद गरिएको काठमाडौँ परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।
उनीहरूले गत पुस २१ गते काठमाडौँ महानगरपालिका-२५ मासन गल्लीस्थित एक होलसेल पसलमा पनि पेस्तोल देखाई दुई तोलाको सुनको सिक्री, नगद रु चार लाख, मोबाइल र सिसीटिभीसमेत लुटेको अनुसन्धानका क्रममा खुलेको छ।
निजमाथि थप अनुसन्धान भइरहेको काठमाडौँ प्रहरीद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ।



