बुटवल- बुटवल उपमहानगरपालिका-४ दरबारमार्गबासी भक्तराज बस्नेतले आफूलाई राजनीतिक पीडितका रूपमा यसअघिको सरकारले निर्णय गरेर दिएको जग्गामा बनाएको घर कुनै विकल्प नदिई भत्काइएकोमा दुःख व्यक्त गरेका छन्।
अर्घाखाँचीको मालारानी-२ का बस्नेतले यथेष्ट प्रमाणहरू हुँदाहुँदै पनि अन्यायपूर्ण तरिकाले घर भत्काइएको तर सोही क्षेत्रमा रहेका पहुँचवालाको भने मेयर, उपमेयरले बचाएको आरोप लगाएका छन्।
२०४७ सालमा गुल्मीको नयाँगाउँमा अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने क्रममा तत्कालीन कांग्रेस नेता जयप्रताप मल्लले हानेको गोली लागेर बस्नेत घाइते भएका थिए। उनको शरीरमा अहिले पनि गोली रहेको छ।
राज्यको जग्गा अतिक्रमण रोक्न भूमिका निर्वाह गर्दा गोली लागेपछि तत्कालीन संयुक्त सरकारले उपचार खर्च र क्षतिपूर्ति दिने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा २०५२ सालमा सुकुम्बासी समस्या समाधान आयोगमार्फत उनले रुपन्देहीमा जग्गा पाएका थिए। सोही जग्गामा घर निर्माण गरी विगत तीन दशकदेखि परिवारसहित बसोबास गर्दै आएका थिए।
उपमहानगरपालिकाले एक दिन पनि समय नदिएर डोजर चलाएको भन्दै उनले गम्भीर आपत्ति जनाएका छन्। राति करिब ८:३० बजे माइकिङ गरेर सूचना दिइएको भोलिपल्ट बिहानैबाट घर खाली गराउने तयारी गरिरहेका बेला दुई घण्टा समय माग्दा नदिई डोजर लगाइएको उनको भनाइ छ।
‘पाकेको खाना खानसमेत नदिई डोजर लगाइयो। हामीले सामान निकाल्न समय माग्दा मेयर, उपमेयर, वडाध्यक्ष र नगर प्रहरी प्रमुख कसैले सुनेनन्,’ बस्नेतले भने। सामान निकाल्न नपाउँदा धेरै धनमाल नोक्सान भएको उनले बताए। अन्य २६ घर भने अहिलेसम्म नभत्काइएको उनले बताएका छन्। ‘मलाई नै लक्षित गरेर गरिएको जस्तो देखिन्छ, नत्र अन्य घर किन बाँकी राखियो?,’ उनले भने।
आफू सरकारी निर्णयका आधारमा प्राप्त जग्गामा बसेको स्पष्ट पार्दै कुनै अतिक्रमण नगरेको पनि उनले बताए। उपमहानगरपालिकाले २०७७ सालमा गठन गरेको जग्गा छानबिन उपसमितिले समेत उनलाई राजनीतिक पीडितका रूपमा उल्लेख गरेको थियो।
‘राज्यले दिएको जग्गामा बनाएको घर क्षणभरमै ध्वस्त पारियो। अब हामी कहाँ जाने?’उनले प्रश्न गरेका छन्। बस्नेतले यस विषयमा निष्पक्ष छानबिन गरी न्याय दिलाउन पत्रकार र सरोकारवाला निकायसँग पुनः सहयोगको अपेक्षा गरेका छन्।
बस्नेतलाई घरमा रहेका सामान निकाल्न दुई घण्टा पनि समय नदिएका बुटवलका मेयर, उपमेयरले आइतबार सुकुम्बासीको हजारौंका संख्यामा रहेको विरोध सभामा पुगेर संघीय सरकारले दिएको निर्देशन नमान्ने भन्दै उनीहरूको घर नभत्काइने प्रतिबद्धता गरेपछि बस्नेत थप आक्रोशित भएका छन्।
‘मैले पाकेको खानासमेत पाइन, अपाङ्ग छु। भित्रको समान २ घण्टामा सार्छु भन्दा पनि सिधै डोजर चलाइयो तर हिजो मेयर उपमेयरले सुकुम्बासीको भेलामा गएर हामीहरू तपाईँको पक्षमा छौं भन्नुभएछ, ममाथि सिधै प्रतिशोध किन राखियो?’ उनले प्रश्न गरे।



