काठमाडौँ- विनोद पौडेल निर्मित फिल्म ‘रोल नं १’ को टिजर सार्वजनिक गरिएको छ। बिहीबार सार्वजनिक टिजरमा मौसमजस्तै छिनमै खोसिने आम मान्छेको सपना र भरोसाको कथा देखाइएको छ ।
समाजमा इज्जतका लागि पनि पढाइमा अब्बल हुनैपर्ने बाध्यताको कसीभित्र रहेको समाज कसरी सरकारी छात्रवृत्तिबाट वञ्चित भइरहेको छ भन्ने यथार्थ टिजरमा छ । छात्रवृत्ति पाउन कक्षामा प्रथम हुनैपर्ने सरकारी नियमले कसरी आम गरिब समुदाय पढाइबाट वञ्चित भइरहेको छ भन्ने तीतो सत्यलाई टिजरले दर्साएको छ । टिजर अनुसार फिल्म गरिब नेपालीको कथा भएको अनुमान गर्न सकिन्छ ।
‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्माता पौडेलको फिल्म ‘रोल नं १’ले अहिलेको शैक्षिक प्रणालीले बाल मनोविज्ञानमा पार्ने नकारात्मक प्रभाव र त्यसले उसको समग्र जिन्दगीमा पार्ने असरको कथा भन्छ । ‘रोल नं १’ जेठ १५ गते (गणतन्त्र दिवस)बाट प्रदर्शनको तयारीमा छ।
जोन योञ्जनको निर्देशन रहेको फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारीलगायतको मुख्य भूमिका छ । फिल्ममा बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन्।
विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको फिल्मको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं हुन्। हिमाली जिल्ला म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगहरूमा छायाङ्कन गरिएको फिल्ममा प्रशान्त शिवाकोटीको सङ्गीत, मदन घिमिरेको सम्पादन छ।
निर्माता पौडेलका अनुसार फिल्म नेपालका साथै विदेशमा पनि एकसाथ प्रदर्शनमा ल्याइनेछ । फिल्मलाई रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले वितरण गर्नेछ।



