रास्वपा सभापति लामिछानेले भारतमा गर्नेछन् उच्चस्तरीय भेटघाट

हिमाल प्रेस १७ जेठ २०८३ २२:२६ | Sunday, May 31, 2026
22
SHARES
रास्वपा सभापति लामिछानेले भारतमा गर्नेछन् उच्चस्तरीय भेटघाट रवि लामिछाने। फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सोमबार पाँचदिने भारत भ्रमणमा जाने भएका छन्। रास्वपाका प्रवक्ता मनीष झाले आइतबार जारी गरेको विज्ञप्तिअनुसार सभापति लामिछाने सोमबारदेखि जुन ५ सम्म भारत भ्रमणमा रहनेछन्।

भ्रमणका क्रममा उनले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ। रास्वपाका अनुसार लामिछानेले भारतीय जनता पार्टीको शीर्ष नेतृत्वसँग समेत छलफल गर्नेछन्।

भारत भ्रमणका क्रममा लामिछानेले त्यहाँ बसोबास गर्ने नेपाली समुदाय तथा रास्वपाका शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ। साथै उनले व्यक्तिगत रूपमा अयोध्या भ्रमण गर्ने कार्यक्रम छ।

सभापति लामिछानेसँगै महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य सहभागी हुनेछन्।

रास्वपाले नयाँदिल्लीस्थित नेपालको राजदूतावास, नयाँ दिल्लीसँग समन्वय गरी सभापति लामिछानेका उच्चस्तरीय भेटघाटको तयारी भइरहेको जनाएको छ।

भाजपा विदेश मामिला विभाग प्रमुख डा. विजय चौथाइवालेले जारी गरेको प्रेसविज्ञप्तिअनुसार लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले नयाँदिल्लीमा भाजपाका राष्ट्रिय अध्यक्ष तथा अन्य वरिष्ठ नेताहरूसँग उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम छ।

भ्रमणको मुख्य उद्देश्य रास्वपा र भाजपाबीच पार्टी–स्तरीय सम्बन्ध स्थापना गर्नु रहेको विज्ञप्तिमा उल्लेख छ। साथै संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनमुखी राजनीतिक पहुँच (आउटरीच) सम्बन्धी विषयमा विचार आदान–प्रदान हुने बताइएको छ।

भाजपाले उक्त प्रतिनिधिमण्डललाई स्वागत गर्दै भ्रमणका क्रममा रचनात्मक संवाद हुने अपेक्षा गरेको जनाएको छ।

सभापति लामिछानेको यो भ्रमण प्रधानमन्त्री बालेन शाहले संसद्‌मा नेपाल-भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिपछि उत्पन्न राजनीतिक बहसका बीच हुन लागेको हो। भारतको सत्तारुढ दल भाजपाको औपचारिक निमन्त्रणामा हुन लागेको यो भ्रमणलाई नेपाल-भारत राजनीतिक सम्बन्ध र दलगत कूटनीतिक सम्पर्कका दृष्टिले चासोका साथ हेरिएको छ।

 

प्रकाशित: १७ जेठ २०८३ २२:२६ | Sunday, May 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast