वर्षाले काभ्रेका दुई स्थानीय तहमा ४६ करोडको क्षति

हिमाल प्रेस २ जेठ २०८३ ६:३४ | Saturday, May 16, 2026
8
SHARES
वर्षाले काभ्रेका दुई स्थानीय तहमा ४६ करोडको क्षति

काभ्रेपलान्चोक- गत वैशाख १२ र १३ गतेको अविरल वर्षात्ले काभ्रेपलाञ्चोकको दुई स्थानीय तहमा करोडौँको क्षति पुर्‍याएको तथ्यांकले देखाएको छ । उक्त वर्षाले दुई तहमा कृषि क्षेत्रमा पुर्‍याएको अनुमानित क्षतिको विवरण पनौती नगरपालिका र बेथानचोक गाउँपालिकाले जिल्लास्थित कृषि कार्यालयमा बुझाएका छन् । कृषि कार्यालयको विवरणअनुसार बेथानचोक–१ मा ६०० रोपनी क्षेत्रफलमा ८० मेट्रिकटन कृषि बाली उत्पादनमा क्षति पुगेको छ ।

आलु, तोरी, सस्र्यु, केराउ, मकै, सुन्तला र बोधिचित्तका फूल तथा चिचिला नष्ट भएको जनाइएको छ । यस्तै तरकारी र फलफूलका बिरुवा पनि नस्ट भएका छन् भने वडा नं २ मा ४०० रोपनी, वडा नं ३ मा एक हजार २०० रोपनी, वडा नं ४ मा ६०० रोपनी, वडा नं ५ मा ५०० रोपनी र वडा नं ६ मा ३०० रोपनीमा क्षति पुगेको विवरण उल्लेख छ ।

उक्त गाउँपालिकामा कागती, सुन्तला र बोधिचित्तका फुल, तरकारी बालीमा अधिक क्षति भएको गाउँपालिकालेसमेत जनाएको छ । करिब रु ६५ लाख बराबरको उत्पादनमा क्षति पुगेको गाउँपालिकाका कृषि शाखा प्रमुख दिपेन्द्र पन्त जानकारी दिए ।

पनौती नगरपमा आलु रु ४३ करोड २६ लाख बराबरको क्षति भएको विवरण बुझाइएको छ । नगरका प्रमुख प्रशासकीय अधिकृत नोखिराम ओलीका अनुसार ७५० हेक्टरमा रोपिएको १० हजार ३०० मेट्रिकटन आलुमा आंशिक तथा पूर्ण क्षति भएको छ ।

ओलीले कृषि कार्यालयमा बुझाएको विवरणमा ५०० टनेल रु २५ लाख, १० हेक्टरमा लगाइएको गोलभेँडा २५० मेट्रिकटनअनुसार रु एक करोड २५ लाख र १० हेक्टरमा लगाएको काक्रा ३०० मेट्रिकटन अर्थात् रु एक करोड ५० लाख बराबरको क्षति भएको बताए । पनौतीमा मात्रै रु ४६ करोडको कृषि बालीमा क्षति भएको नगरपालिकाको दाबी छ ।

उक्त वर्षाले धुलिखेल नगरपालिका–१० र १२ नं वडाका कृषि बालीमा पुगेको क्षति तथा अन्य वडामा भएको क्षतिको विवरण आउन बाँकी रहेको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख कुलप्रसाद दवाडीले कृषकलाई अन्नबाली, तरकारी बालीमा पुगेको क्षतिको राहतका लागि प्रदेश सरकारसँग समन्वय गरिएको बताए । उनका अनुसार विसं २०८१ असोज १०–१२ को वर्षाले पुर्‍याएको क्षतिको विवरण सङ्कलन गर्दै प्रदेश सरकारमा पठाउँदै आएको राहत वितरण गरिरहेको छ।

वैशाख दोस्रो साताको वर्षापछि काभ्रेपलान्चोकका सांसद मधुकुमार चौलागाईंसहित स्थानीय जनप्रतिनिधि, जिल्ला कृषि विकास कार्यालयका प्राविधिकसहितको टोलीले दुवै नगरमा पुगेको क्षतिबारे स्थानीयसँग जानकारी लिँदै यकिन विवरण वडा कार्यालयलाई उपलब्ध गराइदिन सुझाव दिनुभएको थियो । उहाँले धुलिखेल– १, ११ र १२ नं वडा तथा पनौती– ६, ८, ९ र १० वडाका खेतबारीमा लगाइएको आलु तथा तरकारी र अन्य फलफूलमा वर्षाले पारेको क्षतिको स्थलगत गर्दै “क्षतिको यकिन विवरण आएपछि पीडित कृषकलाई भेदभाव नगरी राहत उपलब्ध गराउन पहल गर्छु, यसका लागि संसद्मासमेत विषय उठान गर्नेछु”, उनले भने ।

प्रकाशित: २ जेठ २०८३ ६:३४ | Saturday, May 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast