काठमाडौँ- नेपाल-अमेरिका सम्बन्ध परम्परागत विकास सहयोग र कूटनीतिक सहकार्यभन्दा माथि उठाउने प्रयास अनुरुप आर्थिक साझेदारी, नवप्रवर्तन, पर्यटन र जनस्तरीय सम्पर्कतर्फ अघि बढिरहेको बेला सार्वजनिक कूटनीतिसम्बन्धी अमेरिकी उपविदेशमन्त्री सारा बी. रोजर्सको नेपाल भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
आज काठमाडौँमा आयोजित एसेन्ट समिट-२०२६ मा मुख्य वक्ताको रूपमा उपविदेशमन्त्री रोजर्सले सम्बोधन गर्दै नेपाल-अमेरिकाबीच रहेको बलियो तथा दीर्घकालीन साझेदारी रहेको बताइन्।
उनले भनिनन्, ‘नेपाल-अमेरिकाबीच रहेको बलियो तथा दीर्घकालीन साझेदारीसँगै साहसिक पर्यटन, उद्यमशीलता, नवप्रवर्तन र जनस्तरको सम्बन्धले द्विपक्षीय सहकार्यलाई नयाँ उचाइमा पुर्याइरहेको छ।’
यस्ता सम्बन्धहरूले नेपालमा अमेरिकी कम्पनीहरूको संलग्नता बढाउनुका साथै आर्थिक वृद्धि र रोजगारी सिर्जनाका अवसर विस्तार गर्न सहयोग पुर्याउने पनि बताइन्।
विश्वको सर्वोच्च शिखर सगरमाथा र हिमालयलाई केन्द्रमा राखेर नेपालले साहसिक पर्यटनको अन्तर्राष्ट्रिय हबका रूपमा आफूलाई स्थापित गरिरहेको बेला उच्चस्तरीय अमेरिकी अधिकारीको सहभागिता र धारणाले पर्यटन, प्रविधि, लगानी र जनस्तरीय सम्बन्धमा नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ।

समिटमा प्रतिनिधिसभा सदस्य तथा अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिकी सभापति सुम्निमा उदास, प्रख्यात अमेरिकी पर्वतारोही कनराड एन्कर, पर्वतारोहण अभियन्ता, नवप्रवर्तक, उद्धारकर्मी, पर्वतारोहण सामग्री व्यवसायी, पत्रकार तथा पर्यटन क्षेत्रका नेतृत्वकर्ताहरूको उल्लेख्य सहभागिता थियो।
हिमालयमा सुरक्षित, दिगो र जिम्मेवार पर्यटन विकासका लागि आधुनिक प्रविधि, सुरक्षा मापदण्ड, उद्धार क्षमता अभिवृद्धि र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेकोमा जोड दिँदै उनले वातावरण संरक्षणलाई समेत भविष्यको प्रमुख प्राथमिकता रहेको पनि बताइन्।
नेपाल पर्यटन बोर्ड, अमेरिकी दूतावास र सेभेन समिट ट्रेक्सको साझेदारीमा आयोजित एसेन्ट समिट-२०२६ ले सगरमाथा तथा पर्वतीय पर्यटनको भविष्यबारे चर्चा गर्न एक हजार चार सयभन्दा बढी सहभागीलाई एकै ठाउँमा जुटाएको छ।
कार्यक्रममा नेपालको पर्वतारोहण विरासत र अमेरिकी नवप्रवर्तनले कसरी पर्वतारोहणलाई अझ सुरक्षित, व्यवस्थित र दिगो बनाउन सक्छ भन्ने विषयमा गहन छलफल भएको थियो।
भ्रमणका क्रममा उपविदेशमन्त्री रोजर्सले वरिष्ठ सरकारी अधिकारी, अमेरिकी चेम्बर अफ कमर्सका प्रतिनिधि तथा विभिन्न शैक्षिक तथा आदानप्रदान कार्यक्रमका पूर्वसहभागीहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको नेपाल स्थित अमेरिकी दूतावासले जनाएको छ।

यो भ्रमणले दुई देशबीचको सात दशक लामो साझेदारीलाई पर्यटन, प्रविधि, नवप्रवर्तन र निजी क्षेत्रको सहकार्यमा विस्तार गर्ने अमेरिकाको चाहनालाई पुनः पुष्टि गरेको छ। परम्परागत सहायतामुखी सम्बन्धबाट आर्थिक अवसर र साझेदारीमुखी सम्बन्धतर्फको यो संक्रमण दुवै देशका लागि सकारात्मक मानिएको छ।
उपविदेशमन्त्री रोजर्स २०२५ अक्टोबर १० मा ११औँ सार्वजनिक कूटनीति उपविदेशमन्त्रीको रूपमा सपथ लिएकी हुन्। ट्रम्प प्रशासनमा सामेल हुनु अघि रोजर्स कानुन फर्ममा कार्यरत तथा अभिव्यक्ति स्वतन्त्रताका सक्रिय अभियन्ताको रूपमा परिचित थिइन। सन् २०२४ मा उनले पहिलो संशोधनअन्तर्गत ‘डिब्यांकिङ’ विरुद्ध सर्वोच्च अदालतमा जित हासिल गरेकी थिइन्।
सोसल मिडिया सेन्सरसिप र कानुन प्रवर्तनको दुरुपयोगविरुद्धका मुद्दाहरूमा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेकी उनी डार्टमाउथ कलेजबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातक तथा कोलम्बिया ल स्कुलबाट कानुनमा स्नातकोत्तर हासिल गरेलगत्तै सन् २००३ मा अमेरिकी विदेश मन्त्रालयमा इन्टर्नको रूपमा सार्वजनिक कूटनीतिमा पहिलो अनुभव लिएकी व्यक्ति हुन्।




