नेपाली सेनाद्वारा ५० वटा बेलिबृज निर्माण, दुर्गम क्षेत्रमा यातायात पहुँच विस्तार

हिमाल प्रेस ६ जेठ २०८३ १६:५५ | Wednesday, May 20, 2026
नेपाली सेनाद्वारा ५० वटा बेलिबृज निर्माण, दुर्गम क्षेत्रमा यातायात पहुँच विस्तार

काठमाडौँ- नेपाली सेनाले सिंगल तथा डबल स्पान गरी ५० वटा बेलिबृज जडान गरिसकेको छ। ती पुलहरूको कुल लम्बाइ २ हजार ११८ दशमलव ६५ मिटर रहेको छ।

नेपालको संविधान २०७२ को धारा २६७ (४) ले नेपाली सेनालाई संघीय कानुन बमोजिम विकास निर्माण तथा विपद् व्यवस्थापन कार्यमा परिचालन गर्न सकिने व्यवस्था गरेको छ। राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत भौतिक पूर्वाधार विकासमा नेपाली सेनाको सहभागितालाई प्राथमिकतामा राखेको छ।

यही संवैधानिक तथा नीतिगत व्यवस्था अनुरूप नेपाली सेनाले देशका विभिन्न दुर्गम तथा विपद् प्रभावित क्षेत्रमा सडक तथा पुल निर्माणमार्फत पूर्वाधार विकासमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको हो।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार हालसम्म रसुवाको बेत्रावति, स्याफ्रुबेँशी, धादिङको बेल्खु, मलेखु, कालिकोटको सेरिघाट, जुम्लाको नाग्मागढी, मनाङको ताल, मुस्ताङको लेते, टुकुचे, सिन्धुपाल्चोकको मेलम्ची, हुम्लाको खार्पुनाथ, मकवानपुरको बकैया लगायतका विभिन्न स्थानमा बेलिबृज निर्माण गरेको जनाएको छ।

सबैभन्दा लामो बेलिबृज मकवानपुरको राजदमारस्थित बकैया खोलामा निर्माण गरिएको छ। यसको लम्बाइ १५३ मिटर रहेको छ। त्यस्तै निजगढस्थित बकैया खोलामा १०२ मिटर तथा छेडेगढमा १०५ मिटर लामो बेलिबृज निर्माण गरिएको छ।

नेपाली सेनाले विपद्पछि अवरुद्ध सडक सञ्जाल पुनः सञ्चालन, दुर्गम क्षेत्रका नागरिकलाई यातायात पहुँच विस्तार तथा स्थानीय आर्थिक गतिविधि सहज बनाउन यस्ता पूर्वाधार निर्माणलाई निरन्तरता दिएको जनाएको छ।

निर्देशनालयका अनुसार पुल निर्माणले ग्रामीण क्षेत्रका नागरिकलाई शिक्षा, स्वास्थ्य, बजार तथा सेवा सुविधासम्म पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ।

प्रकाशित: ६ जेठ २०८३ १६:५५ | Wednesday, May 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast