काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग-२ को अंकतालिकामा पुछारतिर रहेका नेपाल र यूएईबीच आज त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा खेल हुँदैछ ।
लिग-२ को शीर्ष चार टोलीले सोझै विश्वकप छनोट खेल्ने प्रावधान रहेकाले नेपाल र यूएईका लागि यो खेल अझै पनि आशा जिवित राख्ने अवसर हो। अंकतालिकामा पछाडि परे पनि दुवै टोलीका लागि सम्भावना पूर्ण रूपमा समाप्त भइसकेको छैन।
आठ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल २२ खेलबाट १४ अंकसहित सातौं स्थानमा छ भने यूएई १२ अंकका साथ पुछारतिर छ। शीर्ष स्थानमा अमेरिका (३६), स्कटल्यान्ड (३४), ओमान (२९), नेदरल्यान्ड्स (२८), नामिबिया (२२) र क्यानडा (२१) रहेका छन्।
पछिल्लो भेटमा नेपालले यूएईलाई ३७ रनले पराजित गरेको थियो। नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याउने क्रममा यूएई ४८.२ ओभरमा १६३ रनमै समेटिएको थियो।
त्यसपछि यूएईले ओमानलाई २५ रनले हरायो भने ओमानले नेपाललाई डकवर्थ-लुइस पद्धतिमा १०२ रनले पराजित गर्यो। यसरी तीनै टोलीले पछिल्ला दुई खेलमा एक/एक जित र हार बाँडेका छन्।
नेपालको ब्याटिङ भने अपेक्षाअनुसार चल्न सकेको छैन। उपकप्तान दीपेन्द्रसिंह ऐरीले यूएईविरुद्ध ७५ र ओमानविरुद्ध ६० रन बनाउँदै टिमलाई धाने पनि अन्य ब्याटरहरू प्रभावहीन देखिएका छन्।
ओपनर आसिफ शेख र कुशल भुर्तेलबाट ठूलो इनिङ नआएको अवस्थामा अर्जुन कुमाल र विनोद भण्डारी जस्ता खेलाडीलाई अवसर दिने सम्भावना बढेको छ। प्रशिक्षक स्टुवार्ट लले प्लेयिङ-११ मा परिवर्तन गर्दै जोखिमपूर्ण निर्णय लिन सक्ने संकेत देखिएको छ।
बलिङतर्फ पनि संयोजनमा प्रश्न उठेको छ। ओमानविरुद्ध देव्रेहाते स्पिनर ललित राजवंशीलाई बाहिर राख्ने निर्णय सफल हुन सकेन। यूएईविरुद्ध उनले किफायती बलिङ गर्दै ६ ओभरमा २२ रन खर्चेर एक विकेट लिएका थिए।
आगामी खेलमा उनी पुनः टोलीमा फर्किए बसिर अहमदले स्थान गुमाउन सक्ने सम्भावना छ। बसिरले दुवै खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न सकेका छैनन्।



