काठमाडौँ- दूरसञ्चार प्रदायक कम्पनी एनसेलले गुणस्तर र वातावरणीय व्यवस्थापनका लागि प्रतिष्ठित अन्तर्राष्ट्रिय मापदण्ड ‘आईएसओ ९००१’ र ‘१४००१’ को मान्यता प्राप्त गरेको छ।
आईएसओ ९००१ गुणस्तर व्यवस्थापन प्रणालीको विश्वव्यापी मानक हो। यसले व्यावसायिक प्रतिष्ठानहरूले ग्राहकका आवश्यकता र नियामक निकायका प्रावधानहरू पूरा गर्न आवश्यक प्रक्रिया प्रक्रिया अपनाएको सुनिश्चत गर्दछ।
त्यस्तै आईएसओ १४००१ ले वातावरणीय व्यवस्थापन प्रणालीको मापदण्ड निर्धारण गर्दछ। यसले संस्थाहरूलाई वातावरणप्रतिको जिम्मेवारी, फोहोरमैला व्यवस्थापन र कानुनी मापदण्ड निर्धारण गर्न मार्गदर्शन गर्दछ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत मायकल फोलेले यो उपलब्धिलाई कम्पनीको निरन्तर सुधार र गुणस्तप्रतिको प्रतिबद्धता बताएका छन्।
‘डाटा सुरक्षा तथा गोपनीयताका लागि यसअघि नै आईएसओ २७००१ः२०२२ र आईएसओ २७७०१ः२०१९ प्राप्त गरिसकेको अवस्थामा अहिले थपिएका यी नयाँ मान्यताहरूले हाम्रो सेवाको गुणस्तरलाई प्रमाणित गर्छन्,’ उनले भने।
यस्तो दोहोरो प्रमाणीकरण प्राप्त गर्ने एनसेल नेपालकै पहिलो दूरसञ्चार सेवा प्रदायक रहेको कम्पनीले जनाएको छ।




