काठमाडौँ- नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवसँग भेटघाट तथा छलफल गरेको छ। उक्त छलफलमा अटोमोबाइल वस्तुहरूमा अधिकतम खुद्रा मूल्य सहितको स्टिकर टाँस्ने व्यवस्थाबारे विस्तृत विचार विमर्श गरिएको हो।
छलफलका क्रममा अध्यक्ष उप्रेतीले यस्तो व्यवस्था लागू भएमा उत्पादन तथा आयात व्यवसाय अझ व्यवस्थित, स्वच्छ र पारदर्शी हुने बताए। यसले सरकारको राजस्व वृद्धि गर्न सहयोग पुर्याउने र कानुनी रूपमा व्यवसाय सञ्चालन गरिरहेका उद्यमी तथा व्यवसायीहरूलाई समेत प्रोत्साहन गर्ने भएकाले नाडा सरकारको दीर्घकालीन नीतिसँग सहकार्य गर्दै अघि बढ्न तयार रहेको बताए।
उनले नेपालमा अहिले CKD मोडलमा विभिन्न चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारी साधनहरूको उत्पादन भइरहेको तथा टायर, लुब्रिकेन्ट र ब्याट्रीसमेत देशमै उत्पादन हुन थालेको जानकारी पनि दिए।
प्रतिनिधि मण्डलसँगको छलफलमा मन्त्री यादवले नाडाका सुझावहरू सकारात्मक रहेको बताउँदै वर्तमान परिस्थितिमा यसको व्यावहारिक पक्षलाई ध्यानमा राखी केही समयका लागि कार्यान्वयन प्रक्रिया स्थगन गर्दै उपयुक्त समाधान खोजिने जानकारी दिइन्। तत्काल देखिएका समस्या समाधान गर्दै आगामी कार्यदिशा तय गरिने आश्वासन पनि दिइन्।
छलफलमा व्यवसायीहरूले एउटै बक्सभित्र ठूलो संख्यामा आउने स्पेयर पार्ट्समा एमआरपी स्टिकर लागू गर्ने विषय व्यवहारिक रूपमा चुनौतीपूर्ण रहेको बताए। भन्सारमा वन्डेड वेयरहाउसको व्यवस्था नभएको अवस्थामा भन्सार यार्डमै स्टिकर टाँस्ने व्यवस्था पनि कार्यान्वयनयोग्य नहुने भएकाले यसलाई व्यवहारिक र सहज बनाउन सरकारसँग सहजीकरण आवश्यक रहेको धारणा राखिएको थियो।
यसै क्रममा नाडाका उपाध्यक्ष अभिक ज्योतिले एमआरपी र स्टिकर सम्बन्धी सुझाव नाडाले नै पहिलो पटक सरकारलाई दिएको जानकारी दिए भने सचिव मेघराज पौडेलले यसको कार्यान्वयनमा देखिएका व्यवहारिक कठिनाइहरूबारे प्रकाश पारे।
उक्त छलफलमा केन्द्रीय कार्य समिति सदस्यहरू दिवाकर मिश्र, नवीन पारख र नारायणप्रसाद पौडेलको पनि उपस्थिति रहेको थियो।



