सवारी साधनको कालो सिसा हटाउन नाडा र ट्राफिक प्रहरीबीच छलफल

हिमाल प्रेस १६ असार २०८३ १४:४९ | Tuesday, June 30, 2026
सवारी साधनको कालो सिसा हटाउन नाडा र ट्राफिक प्रहरीबीच छलफल

काठमाडौँ- सवारी साधनमा जडान गरिएका कालो सिसा हटाउने विषयमा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल भएको छ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आइतबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेसँग भेट गरी सवारी साधनमा प्रयोग भइरहेको कालो सिसा हटाउने विषयमा छलफल गरेको हो।

छलफलका क्रममा प्रमुख काफ्लेले अन्तर्राष्ट्रिय अभ्यासअनुसार अनुमति नपाएका कालो सिसा भएका सवारी साधन विभिन्न आपराधिक गतिविधिमा प्रयोग भएको देखिएकाले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम कालो सिसा हटाउने अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए।

उनले सवारी साधनको अगाडिको सिसामा कालो फिल्म वा कुनै पनि प्रकारका स्टिकर टाँस्न नपाइने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै सवारी आयातकर्ताले खरिदकर्तालाई यसबारे पूर्वजानकारी गराउनुपर्ने बताए।

कालो सिसा प्रयोग गर्न चाहनेले सरकारबाट अनिवार्य अनुमति लिनुपर्ने तथा उत्पादक कम्पनीबाटै कालो सिसा जडान भएका सवारी साधन आयात नगर्न पनि उनले व्यवसायीलाई आग्रह गरे।

नाडाका अध्यक्ष उप्रेतीले अधिकांश सवारी साधनमा कालो स्टिकर (फिल्म) प्रयोग भएकाले प्राविधिक रूपमा त्यसलाई हटाउन सहज हुने भन्दै पहिलो चरणमा कालो फिल्म हटाउने प्रक्रिया अघि बढाउन सुझाव दिए।

त्यसैगरी नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले उत्पादक कम्पनीबाटै कालो सिसा जडान भएर आएका सवारी साधनको संख्या धेरै नभएकाले यकिन विवरण तयार गरी त्यसको व्यवस्थापन गर्न सकिने धारणा राखे।

यस विषयमा थप छलफलका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नाडालाई लिखित रूपमा अनुरोध गरेको जनाएको छ। छलफलमा नाडाका उपाध्यक्ष अभिक ज्योति लगायतको पनि उपस्थिति रहेको थियो।

प्रकाशित: १६ असार २०८३ १४:४९ | Tuesday, June 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast