नेपालगन्ज- दाेस्राे नेपालगन्ज १० के म्युजिक नाइट रनमा एक्सट्रिम इनर्जीले इनर्जी पार्टनरका रूपमा सहकार्य गरेको छ। यही वैशाख २५ गते राति ८ बजे हुने म्युजिक नाइट रन संगीत र दाैड मार्फत समाजलाई एकतामा बाँध्ने र सहरलाई चलायमान गराउने अभियान रहेको रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले बताए।
नेपालगन्ज १० के नाइट रन विश्व रनिङकाे साझा संस्था एसाेसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)काे पुर्णकालीन सदस्य हाे। नाइट रन पनि एम्स प्रमाणीकरण रुटमा सञ्चालन हुने रेस डाइरेक्टर गुरुङले बताए।
नेपालगन्ज उपमहानगरपालिका गेटबाट सुरु भइ राँझा चाेक पुगेर पुन; साेही रुट हुँदै बीपी चाेकमा सम्पन्न हुने दाैड अवधिभर सांगीतिक कार्यक्रम सञ्चालन गरिनेछ। एम्समा आबद्ध दुई वटा रेस सञ्चालन हुने नेपालगन्ज नेपालमा एकमात्र सहर हाे।
नाइट रनमा १० किलोमिटर खुला पुरुष र महिला तथा ५ किलोमिटर स्कुल स्तरीय छात्र एवं छात्रा विधामा स्पर्धा समावेश गरिएको छ। गत संस्करणमा नेपाली सेनाका मुकेश पाल र नरैनापुर (बाँके) कि गीताकुमारी साहु विजेता बनेका थिए।
नेपालगन्ज १० के म्युजिक नाइट रन नेपालकाे पहिलो रात्रि दाैड हाे। स्वस्थ , सभ्य र सुरक्षित सहरकाे परिचय स्थापित गर्न नाइट रन सुरु गरिएको आयाेजकले जनाएको छ।
यसपटक स्थानीय स्तरमा राम्रो प्रदर्शन गर्ने धावकलाई वर्ल्ड एथलेटिक्सबाट मान्यताप्राप्त दक्षिण एशियाली र एशियाली मुलुकमा हुने आधिकारिक रेसमा सहभागी गराउने तयारी गरिएको आयाेजक रेस नेपालका काेषाध्यक्ष सुमन बस्नेतले जानकारी दिए।
धारा नेपालगन्ज म्याराथनले थाइल्यान्ड, मलेसिया, सिंगापुर, भुटान, बंगलादेशलगायत देशका धावक सहभागी गराउने तयारी गरिरहेकाे छ।



