मानव-वन्यजन्तु द्वन्द्व बढ्दै, प्रभावकारी व्यवस्थापन गर्न सांसद कर्णको माग

हिमाल प्रेस १२ जेठ २०८३ १६:०८ | Tuesday, May 26, 2026
8
SHARES
मानव-वन्यजन्तु द्वन्द्व बढ्दै, प्रभावकारी व्यवस्थापन गर्न सांसद कर्णको माग

काठमाडौँ- प्रतिनिधिसभाको मंगलबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र कर्णले कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट आउने जंगली हात्ती लगायत वन्यजन्तुको आक्रमणका कारण सप्तरीसहित आसपासका जिल्लामा भइरहेको मानवीय तथा कृषि क्षतिप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।

बैठकमा बोल्दै कर्णले पछिल्ला केही वर्षमा जंगली हात्तीको आक्रमणबाट स्थानीयले ज्यान गुमाउनुपरेको घटनाहरू सुनाउँदै  पीडित परिवारप्रति सहानुभूति व्यक्त गरे।

उनले कोशी टप्पु वन्यजन्तु आरक्षबाट प्रभावित क्षेत्रमा मानव-वन्यजन्तु द्वन्द्व बढ्दो क्रममा रहेको भन्दै तत्काल प्रभावकारी समाधान आवश्यक रहेको बताए।

उनका अनुसार सप्तरीका सप्तकोशी नगरपालिका, कञ्चनरूप नगरपालिका, हनुमाननगर कङ्कालिनी नगरपालिका लगायत क्षेत्रमा हात्ती तथा अन्य वन्यजन्तुको आक्रमणबाट नागरिकले ज्यान गुमाएका छन् भने किसानको हजारौँ बिघा खेतबारीमा लगाइएको बाली नष्ट भएको छ।

सांसद कर्णले क्षतिपूर्ति प्राप्त गर्ने प्रक्रिया झन्झटिलो रहेको भन्दै पीडित किसान र परिवार थप मारमा परेको पनि बताए।

‘कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने जंगली हात्तीको आक्रमणबाट विगत केही वर्षमा सप्तरी जिल्लाका विभिन्न स्थानमा दुःखद मानवीय क्षति भएको छ। सप्तकोशी नगरपालिका, कञ्चनरूप नगरपालिका र हनुमाननगर कङ्कालिनी नगरपालिकालगायत क्षेत्रमा स्थानीय नागरिकले ज्यान गुमाउनुपरेको छ,’ सांसद कर्णले भने,‘सम्माननीय सभामुखमार्फत यस विषयमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। विशेषगरी सुनसरी, सप्तरी र उदयपुरका बस्तीहरू मानव-वन्यजन्तु द्वन्द्वको चपेटामा परेका छन्। जंगली हात्ती, बँदेल लगायत वन्यजन्तुको कारण किसानका हजारौँ बिघा जमिनमा लगाएको बाली नष्ट भइरहेको छ। क्षतिपूर्ति पाउने प्रक्रिया अत्यन्त जटिल भएकाले पीडित थप समस्यामा परेका छन्। त्यसैले मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापन कार्यक्रम प्रभावकारी रूपमा लागू गरियोस् भन्ने नेपाल सरकारसँग आग्रह गर्दछु।’

उनले सरकारलाई प्रभावित क्षेत्रमा दीर्घकालीन समाधानसहित सुरक्षा र राहत व्यवस्था मजबुत बनाउन आग्रह गरे।

प्रकाशित: १२ जेठ २०८३ १६:०८ | Tuesday, May 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast