काठमाडौँ– इरानले अमेरिकासँगको शान्ति वार्तामा आफ्नो प्राथमिकता सबै मोर्चामा युद्ध अन्त्य गर्नु रहेको बताएको छ।
‘अहिले हाम्रो प्राथमिकता लेबनानलगायत सबै मोर्चामा युद्ध अन्त्य गर्नु हो,’ विदेशमन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले भने, ‘तेहरानका मुख्य मागहरूमा रोक्का गरिएको इरानी सम्पत्तिको फुकुवा, समुद्री मार्गमा कथित अवरोधहरू हटाउने र इरानी जहाजहरूलाई लक्षित गर्ने कारबाही बन्द गर्ने रहेका छन्।’
तेहरानले गम्भीरता र विश्वासका साथ वार्ता गरिरहेको बताउँदै उनले अमेरिका पनि इमानदार हुनुपर्ने उल्लेख गरे।
विगत डेढ वर्षमा वाशिङ्गटनको इरानलाई हेर्ने नीति निकै अविवेकी रहेको बताउँदै उनले गहिरो अविश्वासको वातावरण रहेको जिकिर गरेका छन्।
उनले भने, ‘हाम्रो आँखा खुला छ र हाम्रो सेना पूर्ण रूपमा सतर्क छ।’ उनले इरानले सचेतताका साथ वार्ता जारी राख्ने पनि बताए।
यसैबीच, इरानका विदेशमन्त्री अब्बास अराघचीले पाकिस्तानका आन्तरिक मामिलामन्त्री मोहसिन नाक्वीसँग भेटवार्ता गरेका छन्। नाक्वी यसै साता दोस्रो पटक तेहरान पुगेका छन्। उनले इरानका राष्ट्रपति, आन्तरिक मामिलामन्त्रीसँग पनि वार्ता गरेका छन्।
आईएसएनएको रिपोर्ट अनुसार राष्ट्रपति मसुद पेजेस्कियनले बैठकमा नक्वीसँग क्षेत्रीय अवस्था, अप्रत्यक्ष इरान–अमेरिका वार्ता र युद्ध अन्त्यका लागि भएको कूटनीतिक प्रयास बारेमा छलफल गरेका थिए।




