शान्ति वार्ताका लागि इरानी विदेशमन्त्री अराघची फेरि पाकिस्तान जाने

हिमाल प्रेस १३ वैशाख २०८३ २१:०३ | Sunday, April 26, 2026
14
SHARES
शान्ति वार्ताका लागि इरानी विदेशमन्त्री अराघची फेरि पाकिस्तान जाने

काठमाडौँ- अन्तर्राष्ट्रिय मध्यस्थकर्ताहरूले क्षेत्रीय शान्ति स्थापनाका लागि प्रयास तीव्र पारिरहेका बेला इरानका विदेशमन्त्री अब्बास अराघची आइतबार पुनः पाकिस्तान भ्रमणमा जाने कार्यक्रम तय भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना दूतहरूको प्रस्तावित भ्रमण रद्द गरेको घोषणा गरे तापनि इरानी विदेशमन्त्रीले पाकिस्तानी अधिकारीहरूसँगको संवादलाई निरन्तरता दिन लागेका हुन्।

इरानी सञ्चारमाध्यमहरूले अधिकारीहरूलाई उद्धृत गर्दै अराघचीको यस भ्रमणको पुष्टि गरेका छन्।

इरानी समाचार एजेन्सी इस्नाका अनुसार विदेशमन्त्री अराघचीले इस्लामावादमा पाकिस्तानी अधिकारीहरूसँग भेट गरी ‘युद्ध पूर्ण रूपमा अन्त्य गर्ने समझदारीको ढाँचामा इरानको आधिकारिक स्थिति र विचारहरू’ राख्नेछन्।

यसअघि शनिबारमात्र उनले इस्लामावादमा पाकिस्तानी सेना प्रमुख जनरल असिम मुनिर, प्रधानमन्त्री शहबाज सरिफ, विदेशमन्त्री इशाक दारसँग उच्चस्तरीय भेटवार्ता गरेका थिए।

त्यसलगत्तै उनी ओमानका लागि प्रस्थान गरेका थिए भने अन्य इरानी दूतहरूलाई थप निर्देशन दिन तेहरान फर्किएका थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरूमा आफ्ना दूतहरू स्टिभ विटकोफा र जारेड कुश्नरको पाकिस्तान भ्रमण रद्द गरिएको बताएका थिए। फक्स न्युजसँगको अन्तर्वार्तामा उनले इरानका सतहरू अस्वीकार्य भएको भन्दै ‘केही नबोली बस्नुको अर्थ नहुने’ टिप्पणी गरेका थिए।

तर, त्यसको केही समयमै ट्रम्पले इरानबाट सुधारिएको नयाँ प्रस्ताव आएको खुलासा गरेका थिए।

पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने,‘इरानले पहिले दिएको प्रस्ताव राम्रो थिएन, त्यसैले मैले प्रतिनिधिमण्डल पठाउने निर्णय रद्द गरेको थिएँ। तर, १० मिनेटभित्रै हामीले नयाँ र धेरै राम्रो प्रस्ताव पायौँ।’

यतिबेला सबैथोक अमेरिकाको हातमा रहेको उनले दाबी गरे। ट्रम्पले भने,‘अहिले सबै कार्ड अमेरिकाको हातमा छ र उसले सबै कुरा जितेको छ। इरानले चाहेको बेला मलाई फोन गर्न सक्छ।’

विदेशमन्त्री अराघचीले आफ्नो प्रारम्भिक भ्रमणलाई फलदायी बताए पनि अमेरिकी नियतमा भने शंका व्यक्त गरेका छन्। ‘अमेरिका कूटनीतिमा साँच्चै गम्भीर छ कि छैन, त्यो हेर्न बाँकी छ,’ उनले भने।

पाकिस्तानमा हुने दोस्रो चरणको वार्तापछि अराघची मस्को प्रस्थान गर्ने सम्भावना रहेको छ। यो भ्रमणले पश्चिम एसिया र सम्बन्धित क्षेत्रमा जारी तनाव कम गर्न कस्तो भूमिका खेल्छ भन्नेमा विश्व समुदायको ध्यान केन्द्रित भएको छ।

प्रकाशित: १३ वैशाख २०८३ २१:०३ | Sunday, April 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast