शतक पूरा गर्दाको खुसी व्यक्त गर्न सक्दिनँ : कुशल भुर्तेल

हिमाल प्रेस २ जेठ २०८३ २०:३० | Saturday, May 16, 2026
8
SHARES
शतक पूरा गर्दाको खुसी व्यक्त गर्न सक्दिनँ : कुशल भुर्तेल

काठमाडौँ-  आईसीसी विश्वकप लिग–२ को शृङ्खलामा अमेरिकामाथि सानदार जित निकालेपछि नेपालका शतकधारी ब्याटर कुशल भुर्तेलले  आफ्नो शतकभन्दा पनि शीर्ष क्रमका ब्याटरले रन बनाउन सकेकोमा बढी खुसी लागेको बताएका छन्।

अमेरिकाविरुद्ध अविजित १२० रनको शतकीय पारी खेल्दै ओपनरको भूमिका निर्वाह गरेका उनले खेलपछिको पत्रकार सम्मेलनमा भनेका छन्, ‘लामो समयदेखि शीर्ष क्रमका ब्याटरबाट राम्रो सुरुआत हुन सकिरहेको थिएन। आज त्यो सम्भव हुँदा निकै खुसी लागेको छ। मेरो व्यक्तिगत शतकभन्दा पनि टोलीको जित सधैँ महत्त्वपूर्ण रहन्छ।’ शतक पूरा हुँदाको क्षण व्यक्त गर्न आफूसँग शब्द नै नभएको पनि उनले बताए।

यसअघि ओमानविरुद्धको खेलमा राम्रो सुरुआत पाएर पनि खराब सट खेल्दा तीन खेलसम्म टोलीबाहिर बस्नुपरेको स्मरण गर्दै भुर्तेलले अभ्यासमा राम्रो ब्याटिङ भइरहे पनि खेलमा त्यसलाई उतार्न नसकेको स्वीकार गरेका छन्। शीर्ष ब्याटरका रूपमा आफू र आसिफ सेखले राम्रो साझेदारी गर्न सके खेल जित्न सकिन्छ भन्ने विश्वासका साथ मैदानमा सल्लाह गरेरै ब्याटिङ गरेको उनको भनाइ छ। उनले विकेट ब्याटिङका लागि सहज भए पनि अमेरिकाले सोचेभन्दा कम योगफल बनाएको बताए।

आफ्नो खेल शैली आक्रामक र आसिफको शैली केही संयमित प्रकृतिको रहेको बताउँदै उनले जिम्बावेसँगको खेलमा शतकनजिक पुगेर चुक्नुपर्दा दुःख लागेको स्मरण गरेका छन्। हाल नेपाली क्रिकेट टोलीको अन्तिम ११ मा पर्न धेरै प्रतिस्पर्धा रहेको बताउँदै उनले आगामी खेलमा पनि दर्शकको यस्तै न्यानो साथ रहने आशा व्यक्त गरेका छन्।

शनिबारको खेलमा अमेरिकाले दिएको १९६ रनको लक्ष्यलाई नेपालले मात्र एक विकेट गुमाएर ३६ ओभर ४ बलमा १९९ रन बनाउँदै पूरा गरेको हो। खेलमा नेपालको जितका लागि ओपनर कुशल भुर्तेलले अविजित शतकीय पारी खेलेका छन्। उनले ११८ बलको सामना गर्दै चार छक्का र १३ चौकाको मद्दतले १२० रन बनाएका छन्। त्यसैगरी अर्का ओपनर आसिफ सेखले ७२ बलमा ५८ रनको अर्धशतकीय योगदान दिएका छन्। तेस्रो क्रममा ब्याटिङ गर्न आएका ईशान पाण्डेले ३० बलको सामना गरी २० रन थपेका छन्।

टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ओभरमा १९५ रन बनाएको थियो।

प्रकाशित: २ जेठ २०८३ २०:३० | Saturday, May 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast