क्रियाशील सदस्यता अद्यावधिक गर्न कांग्रेसले तोक्यो विशेष जिम्मेवारी

हिमाल प्रेस ११ जेठ २०८३ १९:१० | Monday, May 25, 2026
16
SHARES
क्रियाशील सदस्यता अद्यावधिक गर्न कांग्रेसले तोक्यो विशेष जिम्मेवारी कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर

काठमाडौँ– नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकलाई सहज र द्रुत गतिमा अगाडि बढाउन पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई विशेष जिम्मेवारी तोकेको छ।

पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको सोमबार बसेको बैठकले सबै संगठनात्मक संरचनालाई प्रयोग गरी अनुगमन गर्न समितिका तर्फबाट सातै प्रदेशमा केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी तोकेको हो।

बैठकले डिला सङ्ग्रौलालाई कोशी प्रदेश, बहादुरसिंह लामालाई बागमती, उदयशम्शेर राणालाई सुदूरपश्चिम, मुक्ताकुमारी यादवलाई गण्डकी, जानकी सिंहलाई कर्णाली, देवराज चालिसेलाई मधेश र अमरसिंह पुनलाई लुम्बिनी प्रदेशको जिम्मेवारी तोक्ने निर्णय गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

पार्टीको १५ औँ महाधिवेशनका लागि नयाँ क्रियाशील सदस्यता वितरण तथा विभिन्न कारणवश यसअघि नवीकरण हुन नसकेका क्रियाशील सदस्यहरूको सदस्यता नवीकरण गरी केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने कार्य यही जेठ २१ गतेभित्र सम्पन्न गर्नुपर्ने बैठकले निर्णय गरेको छ।

बैठकले कांग्रेसको १४ औँ महाधिवेशनका क्रममा गठन भएको क्रियाशील सदस्यता छानबिन समितिले १५ औँ महाधिवेशनमा आधिकारिकता दिनेगरी प्रदान गरिएका क्रियाशील सदस्यतालाई पुरानो सदस्यता मानी नवीकरण प्रक्रियामा समावेश गर्न जिल्ला सभापतिहरुलाई परिपत्र गर्ने निर्णय गरेको कार्यवाहक मुख्यसचिव दुलालले बताए।

बैठकले विभिन्न पार्टीबाट कांग्रेसमा समायोजन भएका व्यक्तिका हकमा सदस्यतासम्बन्धी समस्या समाधान गर्न सदस्यता व्यवस्थापन केन्द्रीय समितिका तर्फबाट जिल्लाहरुमा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ।

त्यसका लागि डा. गोपाल दहितलाई बारा, आङ्गेलु शेर्पालाई सिरहा, अब्दुल सत्तारलाई धनुषा, राजीव ढुंगानालाई सप्तरी, कुसुम थापालाई सोलुखुम्बु, देवप्रसाद तिमिल्सिनालाई सर्लाही, तिलक रानाभाटलाई सुर्खेत, प्रमोदहरि गुरागाईंलाई महोत्तरी, टेकराज पौडेललाई कपिलवस्तु, जगदीशनरसिंह केसीलाई सुनसरी, कमलकिशोर घिमिरेलाई रौतहट, कृष्ण रिजाललाई पर्सा र ईश्वर अधिकारीलाई काठमाडौँको जिम्मेवारी तोकिएको छ।

यसैगरी, कांग्रेस जनसम्पर्क समितिको हकमा अधिवेशन सम्पन्न भइसकेका सात देशको जनसम्पर्क समितिको सम्बन्धमा क्रियाशील अद्यावधिक प्रक्रियाका लागि अनुमति दिने बैठकले निर्णय गरेको छ।

क्रियाशील सदस्यतासम्बन्धी समस्या नदेखिएका १५ देशका जनसम्पर्क समितिका हकमा क्रियाशील सदस्यता अद्यावधिक गरी अधिवेशन सम्पन्न गर्ने समयतालिका केन्द्रीय कार्यालयमा पेस गर्न परिपत्र गरिएको छ।

पार्टीको १४ औँ महाधिवेशनपश्चात् विविध कारणले केन्द्रीय कार्यालयसँग कम सम्पर्क भएका अन्य सात देशका जनसम्पर्क समितिको हकमा सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्न परिपत्र गर्ने बैठकले निर्णय गरेको छ।

त्यसैगरी, क्रियाशील सदस्यतासम्बन्धी समस्या भएका आठ देशका जनसम्पर्क समितिका हकमा अध्ययन गरी समस्या समाधानका लागि आवश्यक समन्वय गर्ने निर्णय गरिएको मुख्यसचिव दुलालले जानकारी दिए।

समितिका संयोजक महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको सचिवमा केन्द्रीय कार्यालयका सहसचिव प्रेम विश्वकर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ।

प्रकाशित: ११ जेठ २०८३ १९:१० | Monday, May 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast