काठमाडौँ– सरोकारवाला निकायको महत्त्वपूर्ण सुझावलाई समेटेर अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट लेखनलाई करिब अन्तिम चरणमा पुर्याएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्का दुवै सदनमा सांसदहरूले दिएको सुझाव, राष्ट्रिय स्वतन्त्र पार्टीले गत फागुन २१ को निर्वाचनमा व्यक्त गरेको वाचापत्र, सरकारको सुशासनको मार्गचित्रलगायतका विषयलाई केन्द्रमा राखेर बजेट लेखन गरिरहेका छन्।
जेठ १५ गते गणतन्त्र दिवसको दिन संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले आगामी आर्थिक वर्पको बजेट प्रस्तुत गर्ने कार्यक्रम छ।
नयाँ संविधान जारी भएपछि हरेक वर्ष जेठ १५ गते नै बजेट प्रस्तुत हुँदै आएको छ। पछिल्ला केही दिनदेखि अर्थमन्त्री वाग्लेले बजेट लेखनलाई अन्तिम रूप दिन लागि परेको उनका स्वकीय सचिव नवीन ढुङ्गानाले जानकारी दिए।
संघीय संसद्ले सांसदहरूले विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तमाथिको छलफलका क्रममा दिएको सुझावलाई पनि लिपिबद्ध गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अर्थमन्त्रालयलाई उपलब्ध गराएको छ।
अर्थमन्त्री वाग्लेले पूर्वअर्थमन्त्री, अर्थविद्हरूसँग पनि बजेटका बारेमा छलफल गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स जस्ता संस्थाको सुझाव पनि उनले लिएका छन्।
महासंघले अर्थमन्त्री वाग्लेलाई बजेटका सुझाव पेस गर्दै आगामी बजेट केवल सामान्य वार्षिक दस्तावेजमात्र नभई नेपालको आर्थिक इतिहासकै विशिष्ट मोडमा आउन लागेको भन्दै अर्थतन्त्रको वर्तमान मोडेलमा आमूल परिवर्तन गर्न सुझाव दिएको छ।
वाग्लेले पनि नागरिकले अब भाषण होइन, परिणाम खोजेको उल्लेख गर्दै कानुनी सुधार, संस्थागत उत्तरदायित्व, समयसीमा, डिजिटल ट्र्याकिङ, प्रत्यक्ष अनुगमन र परिणाम मापनलाई राज्य सञ्चालनको केन्द्रमा राखिएको बताएका छन्।
झन्डै दुई तिहाइ जनमत प्राप्त सरकारले प्रस्तुत गर्न लागेको बजेटलाई अत्यन्तै महत्त्वका साथ हेरिएको छ। सिंहदरबारस्थित नवनिर्मित संघीय संसद् भवनमा अर्थमन्त्री वाग्लेले बजेट प्रस्तुत गर्नेछन्।
संघीय संसद् सचिवालयका अनुसार बजेट प्रस्तुत गरिने भवनको निर्माण सम्पन्न भएको छ। सभामुख डोलप्रसाद अर्याल र अर्थमन्त्री वाग्लेलगायतको टोलीले सोमबार नवनिर्मित भवनको अवलोकन निरीक्षण गरेका थिए।




