आज संसद्मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची

हिमाल प्रेस ३१ वैशाख २०८३ ६:५२ | Thursday, May 14, 2026
आज संसद्मा प्रधानमन्त्री बालेनले जवाफ दिने कार्यसूची

काठमाडौँ- प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। बुधबार तीन पटक बसेर स्थगित भएको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा सरकारको नीति तथा कार्यक्रममा छलफल हुने कार्यसूची रहेको छ भने त्यसपछि प्रधानमन्त्री बालेन्द्र शाहले नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची रहेको छ।

संसदप्रति प्रधानमन्त्री वालेन्द्र शाह जिम्मेवार बन्न नचाहेपछि प्रतिनिधिसभा बैठक नै प्रभावित भएको छ। नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नको उत्तर दिने दिनसमेत प्रधानमन्त्री शाह संसद्‌ बैठकमा उपस्थित नहुँदा विपक्षीहरूले नाराबाजी गरे। उनले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम बाचन गरिरहँदा बैठक छाडेर हिँडेका थिए। यसको चर्को रुपमा आलोचना भइरहेको छ।

परिणामतः बुधबार नै पारित हुने भनिएको नीति तथा कार्यक्रमसमेत प्रभावित बन्यो। नीति तथा कार्यक्रममाथिको बाँकी छलफल सकेर बुधबार निर्णयार्थ प्रस्तुत गर्ने संसद्को कार्यसूची थियो।

तर, शून्य समयमा मात्रै संसद् कार्यसूचीअनुसार चल्यो। सभामुख डीपी अर्यालले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई नीति तथा कार्यक्रममाथि छलफल सुरू गरियोस् भन्ने प्रस्ताव पेस गर्न समय दिएपछि विपक्षी दलका सांसदहरू उठेर नाराबाजी थालिहाले।

प्रधानमन्त्री वालेन्द्र शाह नीति तथा कार्यक्रममा जवाफ दिने दिन अनुपस्थित भएको विषयलाई विपक्षी दलहरूले एजेन्डा मात्र बनाएनन्, बैठक नै अवरोधसमेत गरे।

उनीहरूले प्रधानमन्त्रीको राजीनामासमेत माग गरे । हुन त प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले त्यसअघि नै आकस्मिक समय लिएर रूलिङ गरेरै भए पनि प्रधानमन्त्रीलाई संसद्‌मा उपस्थित गराउनुपर्ने माग गरेको थियो।

 

प्रकाशित: ३१ वैशाख २०८३ ६:५२ | Thursday, May 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast