पोखरा- पोखरा महानगरपालिका-१२ अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानको अग्रभागमा रहेका व्यावसायिक सटर डोजर लगाएर हटाइएको छ।
पृथ्वी राजमार्गसँग जोडिएको उक्त स्थानमा टिनका टहरा बनाई लामो समयदेखि व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरूले पोखरा महानगरपालिकाको रोहबरमा अमरसिंह माध्यमिक विद्यालयसँग समन्वय गरी ती टहरा हटाएका हुन्।
महानगरपालिका र अमरसिंह माविले १५ दिने सूचना जारी गर्दै खाली गराउन भनेको थियो। त्यसको समयसीमा ४ जेठसम्म दिइएको थियो। सो अवधिसम्म आफ्ना सामानहरू सुरक्षित स्थानान्तरण गरी खाली भएका संरचना मंगलबार महानगरपालिकाले जेसिवी प्रयोग गरी हटाएको छ।
त्यस स्थानमा सञ्चालनमा रहेका ५१ वटा व्यवसायीक सटरहरू व्यवसायीहरू आफैँले महानगरपालिका र विद्यालयको अनुरोधमा छोड्न तयार भएका हुन्।
सहरी सौन्दर्यीकरणका दृष्टिले पोखराको मुख्य प्रवेश मार्गका रूपमा रहेको अमरसिंह क्षेत्र ती टहराहरूका कारण अस्वाभाविक देखिएको थियो। ती टहराहरू हटाएर व्यवसायीहरूले महानगरपालिकाको सहरी सौन्दर्यीकरणको अभियानमा साथ दिएको भन्दै उनीहरूलाई नगर प्रमुख धनराज आचार्यले आभार समेत व्यक्त गरेका छन्।
व्यवसायीहरूलाई पुनर्स्थापना गर्ने सम्बन्धमा विद्यालयसँग आवश्यक छलफल तथा समन्वय गरिने बताइएको छ। पछि नयाँ सटर बनाउँदा पुराना व्यवसायीलाई प्राथमिकता दिइने सहमति छ।
महानरका मेयर धनराज आचार्यको नेतृत्वमा वडा १२ का अध्यक्ष सन्तोष बास्तोला, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराज अर्याल, महानगरको शिक्षा महाशाखा, विद्यालयका प्रतिनिधि, व्यवसायीसहितको टोलीले छलफल गरेर आफैँ टहरा खाली गर्ने सहमति गरेका हुन्।




