सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सहभागी सांसदहरू। तस्बिर : रासस
काठमाडौँ- नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संवेदनशील निकायका पदाधिकारीहरूलाई बर्खास्त गरेर सरकारले भ्याक्युम बनाएको बताएका छन्।
प्रतिनिधिसभाको बुधबार शून्य समयमा आङ्देम्बेले सरकारले राजनीतिक भागबण्डाका आधारमा नियुक्त गरेको भन्दै सारा संस्था खाली गरेर भ्याक्युम बनाएको बताएका हुन्। उनले संक्रमणकालीन न्यायका आयोगलगायत केही संवेदनशील संस्थामा समेत पुराना पदाधिकारीलाई बर्खास्त गरिएकाले छिटो सक्षम र निष्पक्ष व्यक्तिहरू ल्याएर सक्रिय पार्न जरुरी रहेकोमा सरकारको ध्यानाकर्षण गराए। विस्तृत शान्ति सम्झौताको दुई दशक बितिसक्दा पनि द्वन्द्व पीडितहरू न्याय पाउनबाट वञ्चित रहेको उनको भनाइ छ।
आङ्देम्बेले टीआरसी ऐनको संशोधन गरे पनि धेरै कानुनी कमजोरीहरू बाँकी रहेकाले नयाँ नियुक्त गर्नुअघि कमजोरीहरू सुधार्न ऐनको चौथो संशोधन आवश्यक रहेको बताए।




