झापा- झापाको अर्जुनधारा नगरपालिका–४, दहीझोडास्थित दुर्गापुर–खुदुनाबारी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार, दुर्गापुरबाट जुकेखाडीतर्फ आउँदै गरेको मे४प ७१९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक कन्काई नगरपालिका–४ का ३५ वर्षीय मनोज कुमाल गम्भीर घाइते भएका थिए।
घाइते कुमाललाई उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएकामा थप उपचारका लागि नोबेल अस्पताल विराटनगर रेफर गरिएको थियो। कुमालको उपचारकै क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस
प्रकाशित: ४ जेठ २०८३ ६:५७ | Monday, May 18, 2026
प्रतिक्रिया




