काठमाडौँ महानगरपालिका–३० मा मंगलबार पार्टीको क्रियाशील सदस्यता अध्यावधिक गरी जरा अभियान शुभारम्भ गर्दै सभापति गगनकुमार थापा। तस्बिर स्रोत : थापाको सचिवालय
काठमाडौँ- नेपाली कांग्रेसले ‘जरा अभियान’ औपचारिक रूपमा आरम्भ गरेको छ। पार्टीका सभापति गगनकुमार थापाले काठमाडौँ महानगरपालिका–३० बाट आफ्नो क्रियाशील सदस्यता अद्यावधिक गर्दै मंगलबार थालेको अभियानको सात प्रमुख उद्देश्य छन्।
वैशाख महिनाभर सञ्चालन हुने उक्त अभियानमार्फत राष्ट्रिय स्तरमा पार्टीको सोच र सन्देश प्रवाह गरिनेछ भने अर्कातर्फ स्थानीय तहसम्म संगठन सुदृढीकरण र क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्य अघि बढाइने पार्टीले जनाएको छ।
पार्टीका अनुसार ‘जरा अभियान’ ले संगठनको आधार तह मजबुत बनाउँदै पार्टीमा नयाँ ऊर्जा र ताजगी ल्याउने लक्ष्य राखिएको छ। फागुन २१ को निर्वाचनपछि प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेपाली कांग्रेसले यस अभियानमार्फत आफ्नो राजनीतिक भूमिकालाई अझ प्रभावकारी बनाउने उद्देश्य लिएको छ।
अभियानले सातवटा मुख्य उद्देश्य अघि सारेको छ। राष्ट्रियता, लोकतन्त्र र संघीयताको आधार बलियो बनाउनेदेखि नागरिक विश्वास र सामाजिक एकता अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ। त्यस्तै पार्टीभित्र आन्तरिक एकता सुदृढ गर्दै संगठन विस्तार गर्ने र आगामी १५औँ महाधिवेशनको तयारीलाई समेत अभियानसँग जोडिएको छ।
राष्ट्रियताको सवालमा दलहरूबीच साझा दृष्टिकोण र सहकार्य बढाउने, विदेशमा रहेका नेपालीहरूको अधिकार संरक्षणमा पहल गर्ने लक्ष्य लिइएको छ। लोकतन्त्र सुदृढीकरणका लागि संसदमा रचनात्मक सहयोग र खबरदारी गर्ने तथा संविधान संशोधनमा मूल्य–मान्यता कायम राख्दै सहकार्य गर्ने नीति अघि सारिएको छ।
संघीयता कार्यान्वयन प्रभावकारी बनाउन आवश्यक कानुन निर्माण, प्रदेश सरकारहरूको कार्यसम्पादन समीक्षा र स्थानीय सरकारको सुदृढीकरणमा जोड दिइएको छ।
त्यस्तै, नागरिक विश्वास बढाउन समावेशी विकास, युवासँग संवाद, निजी क्षेत्रसँग सहकार्य तथा सामाजिक सद्भाव अभिवृद्धिमा विशेष ध्यान दिने जनाइएको छ।
पार्टीभित्र मतभेद न्यूनीकरण गर्दै खुला संवाद र सहकार्यको वातावरण निर्माण गर्ने, विभिन्न कारणले टाढिएका नेता–कार्यकर्तालाई पुनः पार्टीमा फर्काउने र केन्द्रदेखि स्थानीय तहसम्म संगठनात्मक समन्वय बढाउने लक्ष्य राखिएको छ।
अभियानअन्तर्गत देशभर केन्द्रीय प्रतिनिधि खटाइएको र प्रदेश कार्यसमितिले पनि प्रतिनिधि परिचालन गर्ने तयारी गरिएको छ। अभियान सञ्चालनका लागि आवश्यक निर्देशिका आन्तरिक रूपमा पठाइएको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्।
कांग्रेसले ‘जरा अभियान’लाई आगामी असोजमा हुने १५औँ महाधिवेशनको तयारीसँग समेत जोडेको छ। क्रियाशील सदस्यता व्यवस्थित रूपमा अद्यावधिक गर्दै संगठनलाई गतिशील बनाउने र नयाँ ऊर्जा सहित महाधिवेशनमा जाने रणनीति पार्टीले लिएको छ।
नयाँ वर्ष २०८३ को अवसर पारेर सुरु गरिएको अभियान सफल बनाउन सबै नेताकार्यकर्तालाई आआफ्नो क्षेत्रमा सक्रिय हुन पार्टीले आह्वान गरेको छ।
यी हुन् सात उद्देश्य
१.राष्ट्रियताको `जरा´ सबल बनाउन
• संसदमा रहेका दलहरू बीच राष्ट्रिय हित, राष्ट्रिय स्वार्थ र समग्रमा राष्ट्रियताको प्रश्नमा साझा दृष्टि र
सहकार्य।
• देशबाहिर रहेका नेपालीहरूको सुरक्षा र अधिकारका सन्दर्भमा पार्टीको प्रतिज्ञापत्रबमोजिम देशभित्रको भावनात्मक जरा बलियो बनाउन आवश्यक नीतिगत, कानुनी र संरचनागत विषयमा पहल, संवाद र सहकार्य।
२. लोकतन्त्रको `जरा´ सबल बनाउन
• संसदमा नेपाली कांग्रेसको सहयोगी एवं खबरदारीपूर्ण भूमिका।
• संविधान संशोधनको प्रश्नमा लोकतन्त्रको सारभूत मूल्यमान्यतामा सम्झौता नगरी समयोचित दृष्टि, इमानदार अवधारणाको खोजी एवं परिणाममुखी सहकार्य।
३. संघीयताको `जरा´ सबल बनाउन
• संविधानको मर्मबमोजिम संघीयताको सबलिकरण गर्न आवश्यक कानुन निर्माणमा सहकार्य।
• नेपाली कांग्रेस सहभागी रहेका प्रदेश सरकारहरूको गतिविधि समीक्षा, आवश्यक हेरफेर र समयानुकूल परिमार्जन गर्दै प्रदेश सरकार प्रभावकारी बनाउन यो अवधिमा उपयुक्त रणनीति अवलम्बन गर्ने।
• स्थानीय सरकार संचालन प्रभावकारी बनाउन यहि अभियान क्रममा सकारात्मक सन्देश प्रवाह गर्ने।
४. नागरिक विश्वासको `जरा´ सबल बनाउन
• समुन्नतिको प्रश्नमा दलगत आग्रह भन्दा पर समन्यायिक विकास दृष्टि।
• प्रदेश र स्थानीय तहमा रहेका पार्टीका साथीहरूको प्रभावकारिता वृद्धि।
• नवयुवाहरूसँग अनेक तहमा संवाद , तिनको सोच र सपना अनुरुप रुपान्तरण र गति।
• राज्य, दलहरू र निजि क्षेत्रबीच वृहत्तर सहकार्यको खोजीका साथ निजिक्षेत्रको मनोबल अभिवृद्धि र थप दायरा विस्तारमा प्रोत्साहन।
५. सामाजिक एकताको `जरा´ सबल बनाउन
• जातीय, वर्गीय, धार्मिक, सामाजिक र सांस्कृतिक समूहहरूबीच सद्भाव अभिवृद्धिमा भूमिका।
• जातीय विभेद र सबै खाले विसंगति नियन्त्रणमा सहकार्य।
६. पार्टीको `जरा´ सबल बनाउन
• विमतिका विषयहरू न्यूनीकरण गर्दै पार्टीभित्र खुला संवाद र सहकार्य।
• विभिन्न समयमा विविध कारणले पार्टीबाट टाढा भएका साथीहरूलाई `घर-आँगन फर्क´ आह्वान।
• केन्द्रबाट प्रदेश हुँदै स्थानीय तहसम्मका समितिहरूबीच विषयगत तादाम्यता र सांगठनिक कार्यमा गति वृद्धि।
• भ्रातृ र शुभेच्छुक संस्थाहरूको कार्य समीक्षा, आवश्यक निर्णय र `जरा´ तहसम्म सम्बन्धित संस्थाहरूको प्रभावकारिता खोजी।
७. आगामी महाधिवेशनको तयारी
• विशेष महाधिवेशनले पारित गरेका दृष्टि, निर्माण गरेको नेतृत्व र अवलम्बन गरेका नीतिको परिवर्तित सन्देश प्रवाह गर्दै क्रियाशील सदस्यता व्यवस्थित रुपले अधावधिक गर्दै, आगामी असोजमा हुने पार्टीको १५ औं महाधिवेशन तयारी उत्साह र नवीन विश्वाससाथ अघि बढाउने।
• अभियानका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटिनुभएको छ भने प्रदेश कार्यसमितिले पनि प्रतिनिधि खटाउनेछ।




