काठमाडौँ- सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप दुई जनालाई पक्राउ गरिएको छ।
केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आज (आइतबार) कल्पवृक्ष विल्डर्स प्रालिका सञ्चालक प्रकाश ढुंगाना र इन्कोन प्रालिको शेयरधनी तथा लेखापाल स्वदेश पोखरेललाई पक्राउ गरेको हो। ढुंगानालाई काठमाडौँ महानगरपालिका–१६ बालाजु र पोखरेललाई काठमाडौँ-३२, पेप्सीकोलाबाट पक्राउ गरिएको हो।
सरकारी ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नुअगावै आर्थिक प्रस्तावको ‘डकुमेन्ट’ परिवर्तन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र दुवै जनाविरुद्ध प्रहरीको साइबर ब्युरोमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरिएको ब्युरोले जनाएको छ।
ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले दुवै जनामाथि संगठित अपराध विवरण ऐन, २०७० अन्तर्गतको कसुरमा थप अनुसन्धान भइरहेको जानकारी दिए। यसअघि सोही कसुरमा कालिका कन्ट्रक्सनका सञ्चालक एवं राप्रपा नेता विक्रम पाण्डे र भीषण कन्ट्रक्सनका टंककुमार श्रेष्ठलाई शुक्रबार पक्राउ गरिएको थियो।




