महिना दिन नपुग्दै दुई मन्त्री पदमुक्त

हिमाल प्रेस ९ वैशाख २०८३ १५:०७ | Wednesday, April 22, 2026
6
SHARES
महिना दिन नपुग्दै दुई मन्त्री पदमुक्त

काठमाडौँ- सरकार गठनको महिना दिन नपुग्दै विवादित छविका दुई जना मन्त्री पदमुक्त भएका छन्। गत चैत १३ गते प्रधानमन्त्रीमा नियुक्त भएका वालेन्द्र शाह क्याबिनेटका दीपकुमार शाह र सुधन गुरुङ पदमुक्त भएका हुन्।

शक्तिको आडमा श्रीमतीलाई स्वास्थ्य बिमा बोर्डको सदस्यमा पुनः नियुक्ति दिलाउन प्रयास गरेको आरोप लागेपछि विवादमा मुछिएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शाहलाई प्रधानमन्त्री शाहले गत चैत २६ गते पदमुक्त गरेका थिए।

शाहको ठाउँमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले गौरीकुमारी यादवलाई मन्त्री बनाएको छ। त्यसको १२ दिनपछि गृहमन्त्री गुरुङले पनि राजीनामा दिएका छन्। बिचौलियासँग सेयर कारोबारमा सम्बन्ध रहेको आरोप लागेपछि सर्वत्र आलोचना हुँदा गुरुङको राजीनामा आएको हो।

पदमा रहँदा अनुसन्धानका लागि स्वार्थको द्वन्द्वको हुने भन्दै गुरुङले आफ्नो सचिवालयमार्फत राजीनामा दिएको जानकारी गराएका हुन्।

उनले भनेका छन्, ‘मेरा लागि पदभन्दा ठूलो नैतिकता हो र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले पनि यही सन्देश दिएको छ। सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ। मेरा ४६ जना भाइ बहिनीहरूको रगत र बलिदानीको आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जबाफ नैतिकता हो। त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कन्फ्रिल्क्ट अफ इन्ट्रेस नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु।’

शाहलाई नियुक्त भएको १४ दिनमा पदमुक्त गरिएको थियो भने गुरुङले २७ दिन पदमा बसेर राजीनामा दिएका छन्। उनीहरू दुवै चैत १३ गते मन्त्री नियुक्त भएका थिए।

प्रकाशित: ९ वैशाख २०८३ १५:०७ | Wednesday, April 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast