ट्रम्पले गरे युद्धविरामको अवधि लम्याउने घोषणा

हिमाल प्रेस ९ वैशाख २०८३ ६:५४ | Wednesday, April 22, 2026
2
SHARE
ट्रम्पले गरे युद्धविरामको अवधि लम्याउने घोषणा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प।

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविरामको अवधि थप गर्ने घोषणा गरेका छन्। दुई देशबीचको वार्तामा प्रगति नभएसम्मका लागि यो युद्धविराम लम्ब्याइने उनले बताएका छन्।

ट्रम्पले तेहरानले एउटा एकीकृत प्रस्ताव पेस नगरेसम्म इरानी बन्दरगाहहरूको नाकाबन्दी जारी रहने स्पष्ट पारेका छन्। यसअघि यो साता युद्धविरामको म्याद सकिन लागेकाले अमेरिका–इरान वार्ताको भविष्य अन्योलमा रहेको थियो।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा एक पोस्ट गर्दै भनेका छन्, ‘मैले हाम्रो सेनालाई नाकाबन्दी जारी राख्न र अन्य सबै पक्षबाट तयार र सक्षम रहन निर्देशन दिएको छु। त्यसैले, इरानको प्रस्ताव पेस नभएसम्म र छलफल कुनै न कुनै निष्कर्षमा नपुगेसम्मका लागि युद्धविराम बढाइनेछ।’

तेहरानले थप वार्ताका लागि आनाकानी गरिरहेका बेला ह्वाइट हाउसले उपराष्ट्रपति जेडी भान्सको इस्लामाबाद भ्रमण रोकेको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले युद्धविरामको म्याद थप गर्ने आफ्नो अनुरोध स्वीकार गरेकोमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका छन्।

‘मलाई पूर्ण आशा छ कि दुवै पक्षले युद्धविरामको पालना जारी राख्नेछन् र द्वन्द्वको स्थायी अन्त्यका लागि इस्लामाबादमा तय गरिएको दोस्रो चरणको वार्तामा एक विस्तृत शान्ति सम्झौता गर्न सफल हुनेछन्,’ सरिफले सामाजिक सञ्जाल ‘एक्स’मा लेखेका छन्। सरिफले द्वन्द्वको वार्ताद्वारा समाधान खोज्न आफ्नो सरकारले गम्भीर प्रयास जारी राख्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

यसैबीच, उपराष्ट्रपति जेडी भान्स मंगलबार पूर्वयोजनाअनुसार इस्लामाबाद प्रस्थान गरेनन्। ह्वाइट हाउसले पत्रकारहरूलाई दिएको जानकारीअनुसार, उनी अहिले वासिङ्टनमै रहनेछन्। उनको पाकिस्तान भ्रमण हाललाई स्थगित गरिएको छ।

इरानले पनि अमेरिकासँगको वार्ताका लागि पाकिस्तानमा प्रतिनिधिमण्डल पठाउने वा नपठाउने भन्नेबारे अझै निर्णय नगरेको इरानी विदेश मन्त्रालयका प्रवक्ताले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुलाई जानकारी गराएका छन्।

प्रकाशित: ९ वैशाख २०८३ ६:५४ | Wednesday, April 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast