‘संकटको संघार’ मा विश्व अर्थतन्त्र

अमेरिका-इरान युद्ध

हिमाल प्रेस ३ वैशाख २०८३ १७:५४ | Thursday, April 16, 2026
22
SHARES
‘संकटको संघार’ मा विश्व अर्थतन्त्र अमेरिकाको न्युयोर्कस्थित न्युयोर्क हार्बरमा देखिएको तेल तथा रसायन बोक्ने ट्यांकर। तस्बिर :एएफपी/रासस

काठमाडौँ- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले अमेरिका-इजरायलको इरानसँगको युद्ध जारी रहे र ऊर्जाको उच्च मूल्य कायम रहे विश्व अर्थतन्त्रमा मन्दीपछि संकट बढ्ने चेतावनी दिएको छ।

आफ्नो ‘वर्ल्ड इकोनोमिक आउटलुक’ प्रतिवेदनमा आईएमएफले तेल, ग्यास र खाद्यान्न मूल्य यस वर्ष र अर्को वर्ष पनि बढिरहेमा विश्वको आर्थिक वृद्धिदर दुई प्रतिशतभन्दा तल झर्न सक्ने चेतावनी दिएको हो। उसले भनेको छ, ‘यसको अर्थ विश्वव्यापी मन्दीको अत्यन्त नजिकै पुगिनेछ, जुन १९८० पछि मात्र चारपटक भएको छ।’

आईएमएफका अनुसार हालै यस्तो अवस्था कोभिड महामारीका बेला देखिएको थियो। इरानले पश्चिमी राजधानीहरूमा आणविक हतियारबाट आक्रमण गर्न सक्ने बताउँदै अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले त्यो जोखिम अन्त्य गर्न ‘केही आर्थिक पीडा’ स्वीकार्य भएको उल्लेख गरेको बीबीसीले जनाएको छ।

बढ्द सक्छ महँगी र बेरोजगारी

युद्ध थालिएको ६ हप्ताभन्दा बढी समय भइसक्दा ऊर्जाको मूल्य बढेको छ। स्ट्रेट अफ होर्मुजमार्फत पानीजहाजहरूको आवतजावत पूर्ण रूपमा खुला हुन नसकेपछि पेट्रोल, डिजेललगायतका इन्धनको आपूर्ति प्रभावित हुँदा मूल्यवृद्धि भएको हो। साथै अमेरिका र इरानबीचको शान्तिवार्ता पनि असफल भएको छ।

आईएमएफले भनेको छ, ‘फेब्रुअरी २०२६ को अन्त्यमा पश्चिम एसियामा सुरु भएको युद्धका कारण फेरि एकपटक विश्व अर्थतन्त्र  नियन्त्रणभन्दा बाहिर जाने खतरा छ।’

यस वर्ष तेलको औसत मूल्य ११० र २०२७ मा १२५ डलरसम्म पुग्ने सम्भावना विश्वव्यापी मन्दीको कारण बन्न सक्ने आईएमएफले जनाएको छ। यिनै अनुमानका आधारमा आईएमएफले अर्को वर्ष महँगी ६ प्रतिशतसम्म पुग्न सक्ने अनुमान गरेको छ। यसले गर्दा केन्द्रीय बैंकहरूलाई मूल्यवृद्धिको गति कम गर्न ब्याजदर बढाउनुपर्ने हुन सक्छ।

कुन देशमा खाद्यान्नको मूल्य सबैभन्दा बढी बढ्न सक्छ?

आईएमएफका मुख्य अर्थशास्त्री पिएरे-ओलिभिय गोरिन्चासले संघर्ष लामो समयसम्म चले महँगी र बेरोजगारी बढाउने बताएका छन्। साथै केही देशहरूमा खाद्य  असुरक्षासमेत उत्पन्न हुने उनको भनाइ छ।

संघर्ष आजै समाप्त भए पनि तेल आपूर्तिमा पर्ने असर १९७० को दशकको तेल संकट जत्तिकै ठूलो हुने उनले चेतावनी दिएका छन्। १९७० को दशकमा अरब तेल उत्पादकहरूले यो किप्पुर युद्धका बेला इजरायललाई समर्थन गर्ने अमेरिका र अन्य देशहरूमाथि प्रतिबन्ध लगाएका थिए।

गोरिन्चासले भने विश्व अहिले तेल र जीवाश्म इन्धनमा कम निर्भर रहेकाले उपभोक्ताहरूमा गम्भीर असर नपर्ने जिकिर गरेका छन्। इरान संघर्षका क्रममा तेलको मूल्य करिब १२० डलरसम्म पुगेको थियो, तर पछि गिरावट आयो र मंगलबार एक ब्यारेल कच्चा तेलको मूल्य ९८.८५ डलर थियो।

बेलायतमा पर्नेछ ठूलो असर

गम्भीर परिस्थितिहरू दुई वर्षसम्म निरन्तर रहिरहेमा मन्दीको जोखिम बढ्ने आईएमएफले जनाएको छ। आगामी केही हप्तामा संघर्ष अन्त्य भएर यस वर्षको मध्यसम्म पश्चिम एसियाबाट ऊर्जा उत्पादन र निर्यात सामान्य भए २०२६ का लागि विश्वव्यापी वृद्धि ३.१ प्रतिशतमा सीमित हुने उसको भनाइ छ।

यो पहिलेको ३.३ प्रतिशत अनुमानभन्दा कम हो। अर्को वर्षका लागि विश्वव्यापी वृद्धि आईएमएफको अनुमान ३.२ प्रतिशत राखिएको छ। इरानको युद्धबाट उत्पन्न ऊर्जा संकटको सबैभन्दा बढी असर बेलायतमा पर्ने आईएमएफले अनुमान गरेको छ।

आईएमएफले यस वर्ष बेलायतको वृद्धिको अनुमान १.३ प्रतिशतबाट घटाएर ०.८ प्रतिशत गरिदिएको छ। यद्यपि पछि बेलायतको अर्थतन्त्र १.३ प्रतिशत वृद्धिका साथ सुधार हुने आईएमएफले विश्वास लिएको छ।
आईएमएफका अनुसार खाडी क्षेत्रका तेल निर्यातक देशहरूमा यस वर्ष आर्थिक वृद्धिमा तीव्र गिरावट देखिन सक्छ।

इरान र पश्चिम एसियाका देशहरूको के होला?

यस वर्ष इरानको अर्थतन्त्र ६.१ प्रतिशतसम्म खुम्चिने आईएमएफले अनुमान गरेको छ। आगामी केही हप्तामा युद्ध अन्त्य भए २०२७ मा वृद्धिदर ३.२ प्रतिशत हुनसक्ने उसको भनाइ छ।

कतार जस्ता देशहरूमा पनि इरानले आक्रमण गरेको छ। कतार विश्वमा एलएनजीको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो। कतारको ‘रास लफान एलएनजी रिफाइनरी’ मा पनि आक्रमण भएको छ। यो विश्वकै सबैभन्दा ठूलो एलएनजी रिफाइनरी हो। यसलाई पूर्णरूपमा सञ्चालनमा आउन केही समय लाग्ने बताइएको छ।

अमेरिकाका अर्थमन्त्री बेसेन्टले आफू आर्थिक नोक्सानीभन्दा बढी विश्वव्यापी सुरक्षाको जोखिमलाई लिएर चिन्तित रहेको बताएका छन्।

उनले भने, ‘लन्डनमा आणविक हतियारबाट आक्रमण भयो भने विश्वव्यापी जीडीपीमा के असर पर्ला? हामी अल्पकालीन पूर्वानुमानभन्दा कम र दीर्घकालीन सुरक्षालाई लिएर बढी चिन्तित छौँ।’ अमेरिका र इजरायलको आक्रमणले पश्चिमी देशहरूमा इरानी आणविक आक्रमणको जोखिमलाई अन्त्य गरेको उनको भनाइ छ।

आईएमएफले २०२६ मा कतारको अर्थतन्त्र ८.६ प्रतिशतले खुम्चिने तर अर्को वर्ष ८.६ प्रतिशतकै वृद्धिका साथ पुनरागमन गर्ने जनाएको छ। इरानको छिमेकी इराकले यस वर्ष युद्धका कारण आर्थिक झड्का बेहोर्ने आईएमएफको भनाइ छ। उसका अनुसार यस वर्ष इराकको आर्थिक वृद्धिदरमा ६.८ प्रतिशतको गिरावट आउनेछ। तर, २०२७ मा यसले ११.३ प्रतिशतको वृद्धिका साथ सुधार गर्ने अपेक्षा गरिएको छ।

कुनै पनि मुलुकको आर्थिक मजबुती धेरै कारणहरूमाथि निर्भर हुने गरेको आईएमएफको भनाइ छ। यसमा ऊर्जा संरचनामा भएको नोक्सानी, होर्मुजमाथिको निर्भरता र वैकल्पिक निर्यात मार्गहरू समावेश छन्। उदाहरणका लागि साउदी अरबसँग ‘इस्ट-वेस्ट पाइपलाइन’ छ, जुन फारसको खाडीबाट लाल सागरसम्म जान्छ र प्रतिदिन ७० लाख ब्यारेलसम्म तेल पठाउनसक्छ।

२०२६ मा साउदी अरबको वृद्धि सुस्त हुने भए पनि अर्थतन्त्र ३.१ प्रतिशतले बढ्ने अनुमान गरिएको छ। त्यस्तै अर्को वर्ष ४.५ प्रतिशतको वृद्धि हुने अनुमान आईएमएफले गरेको छ। अधिकांश पश्चिम एसियाका तेल निर्यातकहरूमा अर्को वर्ष सुधारको सम्भावना रहेको उसको भनाइ छ।

आईएमएफको प्रतिवेदनअनुसार,‘आउने महिनाहरूमा ऊर्जा उत्पादन र ढुवानी सामान्य हुने भन्ने धारणाका आधारमा अर्को वर्ष सुधारको सम्भावना छ।’ तर, संघर्षको अवधि बढ्दै गए परिवर्तन हुनसक्ने उसले चेतावनी दिएको छ।

आईएमएफले यस वर्ष चीनको आर्थिक वृद्धिको अनुमानलाई पनि घटाएको छ। उसका अनुसार २०२६ मा चीनको वृद्धि ४.४ प्रतिशत रहनेछ, जुन जनवरीको ४.५ प्रतिशतको अनुमानभन्दा कम हो। २०२७ का लागि चीनको ४ प्रतिशत वृद्धिको उसको अनुमान भने परिवर्तन गरिएको छैन।

आईएमएफका अनुसार तेलको मूल्यमा आएको उछालबाट लाभ पाउने एउटा देश रुस हो। रुसी अर्थतन्त्र यस वर्ष र अर्को वर्ष १.१ प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ। यो यसअघिको ०.८ प्रतिशत र १ प्रतिशतको अनुमानभन्दा बढी हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast