काठमाडौँ- राष्ट्रिय जेनजी नागरिक अभियानले पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्ने माग नेपाल आयल निगमलाई ज्ञापनपत्र बुझाएको छ। सोमबार अभियानका प्रतिनिधिहरूले निगमको कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएका हुन्।
शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सो संगठनले २४ घण्टाभित्र मूल्य नघटाए आयल निगम घेर्ने चेतावनी दिएको थियो।
उक्त संगठनका प्रवक्ता वीरजंग विश्वकर्माले इण्डियन आयल कर्पोरेसनबाट खरिद हुने पेट्रोलियम पदार्थको मूल्य निर्धारण प्रक्रियामा पारदर्शिता नभएको आरोप लगाउँदै खरिद मूल्य, कर संरचना र मूल्यसूची सार्वजनिक गर्न माग गरे।
उनका अनुसार मूल्य स्थिरीकरणका लागि उपलब्ध कोष तत्काल प्रयोग गरी उपभोक्तालाई राहत दिनुपर्ने, प्रशासनिक खर्च कटौती गर्दै कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्न कडा अनुगमन गर्नुपर्ने तथा हालको आर्थिक संकट अन्त्य नभएसम्म पेट्रोलियम पदार्थको मल्यवृद्धि पूर्ण रूपमा रोक्नुपर्ने जेनजी नागरिक अभियानको माग रहेको छ।
उनले सरकारले इन्धनमा कर तथा भन्सार छुट दिने निर्णय गरे पनि त्यसको लाभ उपभोक्तासम्म नपुगेको समेत बताए।



