तस्बिर : प्रधानमन्त्रीको सचिवालय
काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन्।
बिहीबार प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री शाहले मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रदेशमा देखिएका समस्या, विकास निर्माणको अवस्था लगायतका विषयमा जानकारी लिएका हुन्।
स्रोत–साधनको समुचित बाँडफाँड सुनिश्चित गर्ने तथा प्रदेशहरूले भोगिरहेका विभिन्न प्रशासनिक र आर्थिक समस्याहरू समाधान गर्ने विषयमा समेत छलफल भएको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जानकारी दिए।
तीन तहको सरकारको समन्वय, सहकार्य र सह–अस्तित्वको विषयमा समेत प्रधानमन्त्री शाहसँग छलफल भएको उनले बताए। उनले प्रदेशले पाउने अनुदान यसअघिको भन्दा निकै घट्दै आएको, प्रदेशका गौरव आयोजनाहरुको निर्माण कार्यमा समस्या देखिएको लगायतका विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएको समेत उल्लेख गरे।
मुख्यमन्त्री बानियाँका अनुसार दुई घन्टाका लागि भनेर बोलाइएको छलफल साढे दुई घन्टासम्म चलेको थियो। प्रधानमन्त्री शाहले मुख्यमन्त्रीहरूले राखेका धारणा धैर्यतापूर्वक सुनको उनले बताए।
त्यसैगरी कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले प्रदेशको समग्र अवस्थाका बारेमा प्रधानमन्त्रीले जानकारी लिएको बताए। उनले संविधानले नै प्रदेशलाई अधिकार तोके पनि पछिल्लो समय संघीय सरकारका कतिपय परिपत्रहरु संविधानसम्मत नभएको विषयमा समेत प्रधानमन्त्रीलाई जानकारी गराइएको उल्लेख गरे। विकास निर्माण, प्रशासनीक क्षेत्रमा देखिएका समस्याका बारेमा पनि अवगत गराइएको उनको भनाइ छ।
बैठकमा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीहरु भने व्यक्तिगत कारणले अनुपस्थित थिए।
देशको वर्तमान आर्थिक अवस्था, पूर्वाधार विकास, सेवा प्रवाहमा सुधार तथा सुशासन कायम गर्ने विषयमा साझा समझदारी निर्माण गर्ने प्रयासका रुपमा मुख्यमन्त्रीहरुसँग छलफल गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।



