फाइल तस्बिर : एपी/रासस
काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामको समयसीमा थप गरेपछि बुधबार होर्मुज स्ट्रेटमा तीनवटा कार्गो जहाजमाथि आक्रमण भएको छ भने इरानले तीमध्ये दुईवटालाई नियन्त्रणमा लिएको छ।
यूके म्यारिटाइम ट्रेड अपरेसन सेन्टरका अनुसार पहिलो जहाजमा इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सले गोलीबारी गरेको थियो।
इरानी सञ्चारमाध्यका अनुसार रिभोलुसनरी गार्डले होर्मुज स्टेटमा निशाना बनाइएका तीनवटै जहाजलाई लक्षित गरेको थियो। फार्स न्युज एजेन्सीले ‘युफोरिया’ जहाजलाई निशाना बनाइएको जनाएको छ।
रिभोलुसनरी गार्डको नौसेनाले एमएससी फ्रान्सेस्का र एपामिनोन्डास कार्गो जहाजहरूलाई कब्जामा लिइएको र तिनलाई इरानको तटतर्फ मोडिएको जनाएको छ। नौसेनाका अनुसार ती जहाजहरू ‘आवश्यक अनुमतिविना सञ्चालन भइरहेका थिए र नेभिगेसन प्रणालीमा छेडछाड गरिहेका थिए।’
ट्रम्पले मंगलबार राति युद्धविराम बढाउँदै अमेरिकाले होर्मुज स्ट्रेटको नाकाबन्दी जारी राख्ने बताएका थिए। पाकिस्तानमा अमेरिकासँग हुने वार्ताअघि इरानमाथि दबाब सिर्जना गर्ने उद्देश्यका साथ ट्रम्पले यो निर्णय गरेको बताइएको छ। तर, वार्ताबारे अझै प्रस्ट स्थिति बनिसकेको छैन।
अमेरिकी उपराष्ट्रपति जेडी भान्स मंगलबार तय गरिएको कार्यक्रमअनुसार पाकिस्तानका लागि प्रस्थान गरेनन्। त्यस्तै इरानले ट्रम्पको बयानमा अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।
इरानी संसदका सभामुख मोहम्मद बकर कालिबाफका सल्लाहकारले युद्धविराम बढाउनुको ‘कुनै अर्थ नभएको’ भन्दै यसलाई ‘अचानक आक्रमणका लागि समय खोज्ने षडयन्त्र’ को संज्ञा दिएका छन्।
अमेरिकी राष्ट्रपति ट्रम्पले २२ अप्रिलमा युद्धविरामको समयलाई अनिश्चितकालका लागि बढाएका छन्।
यूके म्यारिटाइम ट्रेड अपरेसन सेन्टरका अनुसार रिभोलुसनरी गार्डले होर्मुज स्ट्रेटमा एउटा कन्टेर जहाजमाथि गोलीबारी गरेको छ। यो घटना ओमानबाट १५ नटिकल माइल उत्तर–पूर्वमा भएको सेन्टरले जनाएको छ। यो जहाजमा ग्रीसको झन्डा रहेको थियो।
त्यस्तै बुधबार बिहान गोलीबारी गरिएको दोस्रो कार्गो जहाजमा पानामाको झन्डा थियो। यो जहाजको नाम ‘युफोरिया’ हो र यो यूएईको एक कम्पनीको स्वामित्वमा छ। यो जहाज नेपाली समयअनुसार बिहान ६ः५५ बजे होर्मुज स्ट्रेटबाट गइरहेको थियो। जहाजमा इरानबाट करिब ८ नकिटकल माइल पश्चिममा आक्रमण भएको थियो। चालक दल सुरक्षित रहेको र जहाजमा कुनै क्षति नभएको बताइएको छ।
त्यस्तै होर्मुजबाट आउँदै गरेको तेस्रो कार्गो जहाजमा पनि आक्रमण गरिएको छ। यो जहाजमा पानामाको झन्डा थियो र यसको नाम ‘एमएससी फ्रान्सस्का’ हो। यसलाई इरानको तटबाट करिब ६ नटिकल माइल टाढा निशाना बनाइएको थियो। त्यो बेला जहाज होर्मुज स्ट्रेटबाट निस्किएर ओमानको खाडीतर्फ गइरहेको थियो।
इस्लामाबादमा शान्ति वार्तको दोस्रो चरणको प्रयास भइरहेको बेला ओमानको खाडीमा आक्रमण भएको थियो। बुधरबार युद्धविराम सकिनुभन्दा ठीकअघि मंगलबार पेन्टानगले अर्को जहाज नियन्त्रणमा लिएको बतायो। पेन्टानगका अनुसार अमेरिकी सेनाले इन्डो–प्यासेफिक क्षेत्रमा एउटा प्रतिबन्धित ट्यांकरलाई नियन्त्रणमा लिएको छ।-बीबीसी



