गण्डकी प्रदेशमा हटाइए पुराना, थपिए नयाँ मन्त्री

हिमाल प्रेस २ वैशाख २०८३ १५:४१ | Wednesday, April 15, 2026
22
SHARES
गण्डकी प्रदेशमा हटाइए पुराना, थपिए नयाँ मन्त्री

पोखरा– गण्डकी प्रदेशको मौजुदा मन्त्रिपरिषद्मा हेरफेर गरी सबैजना नयाँ मन्त्री नियुक्त गरिएको छ।

नेपालको संविधान धारा १६८ (९) बमोजिम मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले ९ सदस्यीय मन्त्रिपरिषद् फेरबदल गरेका हुन्। नवनियुक्त मन्त्रीहरुको कार्यविभाजनसहित शपथ ग्रहणसमेत भएको छ।

यसअघि, नियुक्त मन्त्रीहरु हटाएर सबैजना नयाँ ल्याइएको हो। जसमा गोविन्दबहादुर नेपालीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय पाएका छन्। एमाले नेता नेपालीले महत्वपूर्ण मन्त्रालयसहित पहिलोपटक मन्त्री बन्ने अवसर प्राप्त गरेका हुन्।

यसैगरी, नन्दप्रसाद न्यौपानेले ऊर्जा, जलस्रोत तथा खानेपानी, जितबहादुर शेरचनले आर्थिक मामिला, भीमबहादुर कार्कीले कृषि भूमि व्यवस्था तथा सहकारी, यशोदा रिमालले उद्योग तथा पर्यटन, रेखा गुरुङले सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन्।

साथै, लक्ष्मणबहादुर पाण्डेले स्वास्थ्य मन्त्रालय र नम्डु गुरुङले वन तथा वातावरण मन्त्रालय सम्हालेका छन्।

पोखराको ड्यामसाइडस्थित नेपाल पर्यटन बोर्डको सभाकक्षमा मुख्यमन्त्री पाण्डेको उपस्थितिमा प्रदेश प्रमुख भट्टले नवनियुक्त मन्त्रीहरुको पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।

गण्डकी प्रदेशमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल एमाले मिलेर सरकार चलाएका छन्। दुवै दलले भागबण्डा गरी मन्त्रालय लिएका हुन्। ६० सदस्यीय प्रदेशसभामा हाल ५९ सदस्य कायम छन्।

यसैगरी, गण्डकी प्रदेशमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसद द्रोणकुमार कुँवरलाई मन्त्री नबनाउँदा राजीनामा बुझाएका छन्। प्रदेशका सभामुख कृष्णप्रसाद धिताललाई उनले बुधबार राजीनामा दिएका हुन्।

उनी २०७९ सालको प्रदेशसभा चुनावमा बागलुङ प्रदेशसभा २ (२) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।

प्रकाशित: २ वैशाख २०८३ १५:४१ | Wednesday, April 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast