काठमाडौँ– नेपाली कांग्रेसले आफूलाई रूपान्तरण भएको दाबी गरिरहे पनि व्यवहारमा भने पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा सीमित गर्ने प्रवृत्ति देखिएको छ। संसदीय दलको नेता चयन प्रक्रियामा प्रतिस्पर्धा हुन नदिई सर्वसम्मतका नाममा निर्णय गरिनु यसकै उदाहरण हो।
निर्णय प्रक्रियामा शीर्ष नेतृत्वकै वर्चस्व देखिएको छ भने संसदीय दलको नेतामा आकांक्षी धेरै भए पनि नेतृत्वकै सहमतिमा टुंगो लगाइएको छ। यसबाट युवा र प्रत्यक्ष निर्वाचित सांसदहरू प्रतिस्पर्धाबाट वञ्चित भएका छन्। निर्वाचनमार्फत नेतृत्व चयन गर्ने परम्पराभन्दा सहमतिका नाममा निर्णय गर्ने अभ्यास बढ्दै जाँदा पार्टीभित्रको विधि, पारदर्शिता र संस्थागत आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको टिप्पणी हुन थालेको छ।
कांग्रेस संसदीय दलको नेताका लागि धेरै आकांक्षी भए पनि बिनाप्रतिस्पर्धा भीष्मराज आङदेम्बेलाई चयन गरेपछि नेतृत्वको आलोचना हुन थालेको हो।
प्रतिनिधिसभा सदस्य चुनावको परिणाम घोषणा भएको डेढ महिनापछि भएको संसदीय दलको नेता चयनमा कांग्रेसले विधि र थिति बिर्सिएको जानकारहरू बताउँछन्। पार्टीका नेताहरू भने आकांक्षी धेरै हुँदा चुनाव गराउन नगराइएको बताउँछन्। सभापति गगनकुमार थापा निकट मानिने नेता अजयबाबु शिवाकोटी भन्छन्, ‘यस परिस्थितिमा जित/हार किन बनाउने भनेर सहमति जुटाइयो।’
संसदीय दलको नेतामा चयन भएका आङ्देम्बे लामो समयदेखि पूर्वसभापति शेरबहादुर देउवा निकट थिए। पछिल्लो समय उनी देउवा खेमाबाट बाहिर जान लचक भएको संकेत देखाएपछि सर्वसम्मतका नाममा अरू नेताहरूलाई पछि हटाइएको एक नेता बताउँछन्। ती नेताका अनुसार यसमा सभापति थापा आफैँ पछि हटेका थिए।
सभापति थापा रसुवाका सांसद मोहन आचार्यलाई दलको नेता बनाउने पक्षमा थिए। उपसभापति विश्वप्रकाश शर्मा भने आङ्देम्बेका पक्षमा उभिएका थिए। थापा र शर्माबीच सहमति नजुट्दा दलका नेता चयन गर्न ढिलाइ भएको थियो। अन्ततः सभापति थापा आफैँले दलका नेताका लागि आङ्देम्बेकै नाम प्रस्ताव गरेका थिए।
‘उहाँ (भीष्म दाइ) संस्थापनसँग लचक हुनुभयो। यही कारण नेता बन्नुभयो’, सभापति गगन थापा निकट ती नेता भन्छन्। आङ्देम्बे जनजाति कोटाबाट बनेका समानुपातिक सांसद हुन्।
‘उहाँ सबैलाई मिलाउने ल्याकत राख्नुहुन्छ। त्यसैले उहाँलाई सर्वसम्मत गराउने निर्णय गरिएको हो’, नेता शिवाकोटी भन्छन्। पूर्वबाट उदाएका नेता भनेर आङदम्बेको नाम राखिए पनि कोशी प्रदेशमा प्रत्यक्षमा निर्वाचित सांसद नभएका होइनन्।
‘कांगेस आन्तरिक लोकतन्त्रको अटोक्रेसी हो। यसरी जबरजस्त कसैलाई अघि बढाउन खोजिन्छ भने कांग्रेसको मात्र होइन, देशकै लोकतन्त्र खत्रामा पर्छ’, कांग्रेस युवा नेता धर्मराज शाही भन्छन्, ‘पार्टी मिलाउन यो काम गरिएको हो भने त ठीक छ तर यही गतिमा अघि बढ्ने हो भने हामी कम्युनिस्टजस्तै बन्नेछौँ।’
आङ्देम्बे पटकपटक चुनाव हारेका नेता हुन्। पाँचथर गृहजिल्ला भएका उनी २०५६ सालमा एमालेका डम्बरसिंह सम्बाहाम्फेसँग पराजित भएका थिए। २०६४ को संविधानसभा चुनावमा पनि उनले डम्बरसिंहसँग दोस्रो पटक हारे। संविधानसभाको दोस्रो चुनाव २०७० मा भने डम्बरसिंहलाई हराएर भीष्मराज संविधानसभा सदस्य भएका थिए। उनले २०७४ र २०७९ को चुनावमा एमालेका वसन्तकुमार नेम्बाङ चुनावसँग हारेका थिए।
कांग्रेसमा संसदीय दलको नेता चयन गर्न प्रत्यक्ष निर्वाचित सांसद बिर्सिएको गुनासो हुन थालेको छ। कांग्रेसमा ४० मुनिकै सांसद पाँच जना छन्। तीमध्ये निस्कल र बासना थापा संसदीय दलको नेताकै दोबदार थिए। उनीहरूलाई प्रतिस्पर्धा गर्न नदिइएको कांग्रेसका एक सांसदले बताए। ६६ वर्षीय भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेतामा अघि सार्दा कांग्रेसले ३५ वर्षीय निस्कललाई बिर्सिएको जानकारहरू बताउँछन्। निस्कल इलाम-१ बाट निर्वाचित भएका हुन्।
कांग्रेसले आन्तरिक प्रतिस्पर्धा छाडेको यो पहिलोपल्ट होइन। यसअघि विशेष महाधिवेशन (२०८२ पुस ३०–माघ १) मा पनि बिना प्रतिस्पर्धा पदाधिकारी चुनियो। जुन महाधिवेशनबाट गगन थापा सभापतिमा उदाए। गगन सभापति बन्दा उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्वाचित भए।
महामन्त्रीमा गुरुराज घिमिरे र प्रदीप पौडेलका नाममा सर्वसम्मति भयो। विगतमा माथिल्लो दर्जाका सबै नेताहरू कुनै बेला दलको आन्तरिक लोकतन्त्र बलियो बनाउन चुनाव लड्नुपर्ने राय राख्थे।
२०७९ सालमा गगनले संसदीय दलको नेतामा तत्कालीन सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका थिए। देउवाले ६४ मत पाउँदा गगनले २५ मत पाएका थिए। देउवा तत्कालीन संस्थापन पक्षबाट प्रतिस्पर्धामा उत्रिँदा गगनले अर्का नेता शेखर कोइरालाको समेत साथ पाएका थिए। संसदीय दलको नेतामा पराजित भएपछि गगनले आफू संसदीय दलको नेता बन्न सक्ने दाबी गरेका थिए। ‘आज मैले चुनाव हारेँ तर म जतिसुकै बेला पनि प्रतिस्पर्धामा उत्रिनेछु’, गगनले भनेका थिए, ‘आज सभापतिज्यूले जित्नुभयो। तर अब निरन्तर दलको नेता बन्न लाग्नेछु।’ अहिले तिनै गगनले प्रतिस्पर्धा गर्न रोकेको नेताहरू बताउँछन्।
नेताहरूका अनुसार गगन र विश्वप्रकाश शर्माबीच पनि कसलाई दलको नेता बनाउने भन्नेमा भतभेद थियो। नेताहरूका अनुसार गगन पक्षबाट अर्जुननरसिंह केसीको नाम अघि सारिएको थियो। केसीले चुनाव नलड्ने बताएपछि आङ्देम्बे दलको नेता बन्ने बाटो खुलेको थियो।
चुनावको झन्डै दुई महिनापछि कांग्रेसले संसदीय दलको नेता चुन्दै छ। संसद्मा प्रतिनिधित्व गरेका दलले संसदीय दलको नेता टुंग्याएका छन्। यसअघि पनि कांग्रेसले केन्द्रीय सम्पादन समिति र केन्द्रीय कार्य समितिमा छलफल गर्यो।
प्रतिस्पर्धा नगरी सर्वसम्मत टुंग्याउन दबाब दियो। यसअघि कांग्रेसले सहमहामन्त्री प्रकाश स्नेही रसाइलीको संयोजकत्वमा समिति बनाएको थियो। रसाइलीले सर्वसम्मत टुंग्याउन अनुरोध गरेका थिए। नेताहरूका अनुसार प्रतिस्पर्धा गर्न केन्द्रीय नेताले रुचि देखाएका थिएनन्। यही कारण दलको नेता टुंग्याउन ढिला भयो। ‘हामीले दबाब दिएको होइन तर भरसक मिल्नु भन्ने काम गरेका हौँ’, सहमहामन्त्री रसाइलीले भने।
एमालेको सिको
संसद्को तेस्रो दलमा पनि आन्तरिक प्रतिस्पर्धालाई निस्तेज गरिएको छ। यसअघि संसदीय दलको नेताको आकांक्षी रहेका सुहाङ नेम्बाङले प्रतिस्पर्धा गर्न पाएनन्। नेतृत्वले समानुपातिक सूचीका रामबहादुर थापा ‘बादल’ लाई अघि सार्दा सुहाङले प्रस्तावक र समर्थक पनि पाएनन्।
दलको नेतामा महासचिव शंकर पोखरेल, सचिव भानुभक्त ढकालले प्रवेश गरेपछि सुहाङको पक्षमा देखिएका नेताहरू पनि बादलकै पक्षमा खुलेको एक नेताहरू सुनाउँछन्। त्यसो त एमालेमा यसअघि पनि संसदीय दलको नेतामा प्रतिस्पर्धा भएको थिएन।
२०७१ सालमा अध्यक्ष बन्नुअघि एमालेका तत्कालीन वरिष्ठ नेता ओलीले तत्कालीन अध्यक्ष झलनाथ खनाललाई हराएका थिए। संसदीय दलको नेता जितेकै कारण संसद्मा शक्तिशाली बनेका ओली त्यसपछि पार्टीमा पनि उदाएका थिए। तर ओली नेतृत्वमै पुगेपछि दलको नेतामा प्रतिस्पर्धा ‘बन्देज’ जस्तो छ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे : समन्वयकारी नेता





