काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र एकता सुदृढ गर्न पुराना विवाद बिर्सेर अघि बढ्न आह्वान गरेका छन्।
बुधबार विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीलाई एकताबद्ध गर्दै अघि बढाउन आफू प्रतिवद्ध रहेको भन्दै यसका लागि पुराना विवाद बिर्सेर अघि बढ्न आह्वान गरेका हुन्।
निर्वाचनका क्रममा असन्तुष्ट बनेका नेता–कार्यकर्तालाई पुनः एकताबद्ध बनाउन सबै तहका नेतृत्वले सक्रिय भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।
थापाले युवालाई पार्र्टीमा आकर्षित गर्न विशेष पहल आवश्यक रहेको उल्लेख गर्दै ३० वर्षमुनिका युवालाई कांग्रेससँग जोड्ने अभियान सञ्चालन गरिने जानकारी दिए।
सभापति थापाले सरकारका सकारात्मक कामको समर्थन र कमजोरीको सदन तथा सडक दुवैबाट सशक्त आलोचना गरिने स्पष्ट पारे।
कार्यक्रममा सहभागी उम्मेदवार तथा जिल्ला सभापतिहरुले पार्टीभित्रकै आन्तरिक विवाद र अन्तर्घातका कारण निर्वाचनमा पराजय बेहोर्नुपरेको गुनासो गरेका थिए।



