एमाले नेता महेश बस्नेत।
काठमाडौँ- नेकपा एमालेका सचिव महेश बस्नेतले गृहमन्त्री सुधन गुरुङले तत्काल राजीनामा दिएर छानबिनको दायरामा आउनुपर्ने बताएका छन्। सम्पत्ति विवरण सार्वजनिक भएपछि गृहमन्त्री गुरुङ विवादमा तानिएका छन्। आज सचिव बस्नेतले गुरुङको राजीनामा मागेका हुन्।
सचिव बस्नेत सामाजिक सञ्जालमा लेख्छन्, ‘गृहमन्त्रीले तत्काल राजीनामा दिएर छानबिनको दायरामा आउनु आवश्यक देखिन्छ। यदि उनले राजीनामा दिएनन् भने मन्त्री बन्नुभन्दा चार-पाँच दिन अगाडि तातोपानी जाँदातिरको काण्डसँग सम्बन्धित भिडियो फुटेजसमेत पत्रकारहरूले तयार पारेर राखेको बताइँदैछ। यिनको कथित आपराधिक पृष्ठभूमिका कारण ढिलोचाँडो यिनको पद जानेनैछ।’
सचिव बस्नेतले यसअघि व्यवसायी दिपक भट्टको नाम केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवासँग जोडेर बदनाम गर्न नेपाली मिडिया र प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) समर्थकलाई सोसल मिडियामा भ्याइनभ्याइ भएको पनि बताए।
बस्नेत भन्छन्,‘तर अनुसन्धान गर्दै जाँदा उहाँहरूसँग सम्बन्धित कसैको कनेक्सन देखिएन। दिपकजीको कनेक्सन त बालेनजीकै निकट मानिएका गृहमन्त्री सुदन गुरुङसँग नै २५ लाख रुपैयाँ बराबरको सेयरसहित रहेको तथ्य बाहिरियो। अझ रोचक पक्ष के छ भने कार्की आयोगका सदस्य विज्ञान राज शर्माको नाममा पनि १० लाख रुपैयाँ बराबरको सेयर फेला परेको भनिएको छ। दिपकजी दोषी छन् कि छैनन्, त्यो कुरा भोलि न्यायालयले नै निर्धारण गर्ने विषय हो।’



